नयाँ अभियान, चौतारा ।
चौतारा साँगाचोकगढी नगरपालिकाले जाजरकोट र रुकुम पश्चिममा शुक्रबार राती गएको भूकम्पबाट प्रभावितहरुलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।
बिहिबार बसेको कार्यपालिकाको बैठकले उक्त निर्णय गरेको हो। केन्द्रीय राहतकोष मार्फत एकद्वार प्रणालीमा रकम जम्मा गर्नेगरी नगरपालिकाले १७ लाख रकम दिने घोषणा गरेको छ ।
प्राकृतिक विपत्तिको बेला एक नेपालीले अर्को नेपालीको घाउमा मलम लगाउनु पर्छ भन्ने भावले सहयोग गर्ने निर्णय गरिएको चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्ण प्रसाद सापकोटाले नयाँ अभियानलाई बताउनुभयो । पिडाको अवस्थामा भूकम्प पिडितहरुलाई हामी सबै तपाईको साथमा छौ भन्ने महसुस गराउनको लागि सहयोग गर्ने निर्णय गरेका हौँ, नगर प्रमुख सापकोटालेभन्नुभयो।
यसअघि सिन्धुपाल्चोकको बलेफी, जुगल, बाह्रविसे, त्रिपुरासुन्दरी र भोटेकोशीले राहत रकम घोषणा गरिसकेका छन् । बाह्रविसे नगरपालिकाले १५ लाख, भोटेकोशी गाउँपालिकाले १० लाख, त्रिपुरासुन्दरी गाउँपालिकाले १० लाख, बलेफी गाउँपालिकाले ५ लाख र जुगल गाउँपालिकाले ३ लाख सहयोग गर्ने घोषणा गरेका थिए। स्थानीय तहहरुको घोषणाबाट हालसम्म ६० लाख जम्मा भएको छ ।
शुक्रबार राती ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु बनाएर ६.४ म्याग्निच्युटको शक्तिशाली भूकम्प गएको थियो । भूकम्पमा परि हालसम्म १४७ जनाको मृत्यु भइसकेको छ भने १८० भन्दा बढी घाइते भएका छन् ।