सिन्धुपाल्चोक ।
आज सम्पन्न हुने अखिल (क्रान्तिकारी) सिन्धुपाल्चोक जिल्ला सम्मेलनको तयारी पुरा भएको छ ।
नेकपा (माओवादी केन्द्र) को भातृसंगठन अखिल (क्रान्तिकारी)ले ‘शिक्षा स्वास्थ्य रोजगारको लागी हाम्रो अभियान, सामाजिक न्याय सहित आर्थिक समृद्विको पक्षमा २० औं जिल्ला सम्मेलन’ भन्ने नाराका साथ जिल्ला सम्मेलन गर्न लागेको सम्मेलन आयोजक कमिटिका संयोजक क्षतिज तामाङले जानकारी दिए ।
जिल्लाको सदरमुकाम चौतारामा हुने सम्मेलनको उद्घाटन नेकपा माओवादीका उपाध्यक्ष तथा निवर्तमान सभामुख अग्नि प्रसाद सापकोटाले गर्ने कार्यतालिका रहेको छ । शनिबार हुने यो सम्मेलनले नयाँ नेतृत्व चयन गर्ने छ ।
आज सम्पन्न हुने यस सम्मेलनमा अध्यक्षका लागि ५ जनाको दावि प्रस्तुत गरेका छन् । संगठनको नेतृत्वका लागि संगठनका तत्कालिन उपाध्यक्ष हरि पौडेल, प्रविण चौलागाईं, दिपक दनुवार सहित सचिव सुबास गौतम र सह सचिव निश्चल सञ्जेलले इच्छा जाहेर गरेका छन् ।
यस्तै उपाध्यक्षका लागि प्रदिप पराजुली, सुदिप श्रेष्ठ लगायतले दावि गरेका छन् भने सचिवका लागि भने आधा दर्जन बढीको दावि प्रस्तुत भएको छ । चौतारा बहुमुखी क्याम्पसका स्ववियू सभापति अमृत श्रेष्ठ सहित प्रल्हाद विश्वकर्मा, कमल न्यौपाने, दुर्गा श्रेष्ठ, हितबहादुर तामाङ लगायतको दाबि रहेको एक विद्यार्थी नेताले जानकारी दिए ।
आ‐आफ्नो कार्ययोजना सहित दावि प्रस्तुत गरेका विद्यार्थी नेताहरु बिच अन्तिम बिन्दुसम्म सहमति गराएर जाने र सहमति नभए निर्वाचनबाट नै नयाँ नेतृत्व चुन्नेगरी तयारी रहेको अखिल क्रान्तिकारीको जिल्ला इन्चार्ज मिलन लामाले जानकारी दिए ।
“अन्तिम समयसम्म सहमतिको प्रयास हुने छ सहमति नभएमा सम्मेलनका प्रतिनिधिहरुले मतदान गरेर आफ्नो नेतृत्व आफै छान्ने छन् । निर्वाचनको लागि समेत सम्पुर्ण तयारी भैसकेको छ” इन्चार्ज लामाले भने ।
आयोजक समितिले गोपाल खडकाको नेतृत्वमा ३ सदस्यिय निर्वाचन समिति समेत गठन गरेर निर्वाचन प्रकृया थालिसकेको छ । यस २० औँ जिल्ला सम्मेलनले ६४ सदस्यिय कमिटि निर्वाचित गर्ने छ ।