स्याउले ।
चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १ को वडा कार्यालयको भवन सिलान्यास भएको छ । नगरप्रमुख कृष्णप्रसाद सापकोटाले आज वडा कार्यालयको भवन सिलान्यास गर्नुभएको हो ।
भवनको शिलान्यास गर्दै नगर प्रमुख सापकोटाले समयमा नै काम सकाउन निर्माण कम्पनीलाई आग्रह गर्नुभएको छ । असार मसान्त सम्ममा कार्यसम्पन्न गर्ने गरी निर्माण कम्पनीले सम्झौता गरेको भवनको निर्माण कार्य ढिला शुरु भएतापनी समयमा नै सम्पन्न हुने विश्वास लिएको नगरप्रमुख सापकोटाले बताउनुभयो ।
निर्माण कार्यको गुणस्तर संगै समयमा नै कार्य सम्पन्न गराउन स्थानीयको रचनात्मक सहयोग आवश्यक रहने हुँदा आवश्यक सहयोग गर्न सबै एक भएर लाग्न समेत नगरप्रमुख सापकोटाले अनुरोध गर्नुभयो।
नगर भित्रका कतिपय वडा कार्यालय जाने बाटो असहज भएको हुँदा सेवा प्रवाहमा सहजता ल्याउन बजेट व्यवस्थापन गर्दै आएको समेत उहाँले बताउनुभयो ।
आफ्नै पहलमा स्याउले बजारको खानेपानीको समस्या समाधानको लागी १ करोड बजेट बिनियोजन गरेको बताउदैँ उहाँले यसलाई थप बजेटको लागि निरन्तरता दिन पहल गरिने समेत बताउनुभयो।
यस्तै भवन सिलान्यास कार्यक्रममा बोल्दै नगर उपप्रमुख सीता थापाले नगरपालिका भित्रका सबै वडाका सेवा प्रवाह अब पक्की भवनबाट प्रदान गरिने बताउनुभयो । कच्चि भवनबाट सेवा प्रभाव गर्दा कर्मचारीमा हुने विभिन्न किसिमका डर र चिन्ताको अन्त्य हुने बिस्वास लिएको समेत उपप्रमुख थापाले बताउनुभयो ।
असार मसान्त भित्र ८१ लाख ५६ हजार ४ सय ६९ रुपैया ३९ पैसा लागतमा निमार्ण सम्पन्न गर्ने गरी निमार्ण कम्पनीले काम सुरु गरेको वडा अध्यक्ष युवलाल श्रेष्ठले बताउनुभयो ।
यस वडा कार्यालय भवनको निर्माणको काम असार मसान्त भित्र इस्टिमेट अनुसार सम्पन्न गर्नेगरी सुभारम्भ ईन्जिनियरिङ कन्सट्रक्सन एण्ड कन्सलटेन्ट प्रा।ली सँग सम्झौता भएको छ । १२ सय स्क्वायर फिटमा २ तले भवन निर्माण हुन लागेको हो । साविक वडा कार्यालय रहेकै जग्गामा नया भवन निर्माण हुन लागेको वडा सदस्य रामशरण अधिकारीले जानकारी दिनुभयो ।
विगतमा कच्चि भवनबाट कार्य संचालन गर्दा विभिन्न किसिमका अवरोधहरुको सामना गर्नुपरेको स्मरण गर्दै वडा सचिव राजबहादुर श्रेष्ठले नयाँ भवन निर्माण हुन लाग्दा निकै आनन्द महसुस भएको बताउनुभयो ।
उक्त भवन शिलान्यास कार्यक्रममा स्थानिय जनप्रतिनिधि, नागरिक समाज, टोल विकास संस्थाका प्रतिनिधि, पत्रकार तथा सर्बसाधारणहरुको सहभागिता रहेको थियो ।