सुशिल सुबेदी, मेलम्ची ।
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा ११ स्थित धुसेनीमा भएको खुल्ला फुटबल प्रतियोगिताको उपाधि कटुन्जे युवा क्लब कटुन्जेले हात पारेको छ ।
कटुन्जे युवा क्लब मेलम्ची–११ द्वारा आयोजित उक्त प्रतियोगितामा १० टिम सहभागी रहेकोमा आयोजक टिमले नै उपाधि आफ्नो कब्जामा लिएको हो ।
कोरोना कहरका बीच स्वास्थ्य मापदण्ड पूरा गर्दै भएको प्रतियोगितामा विजेताले शिल्ड, मेडलसहित नगद रु.१५ हजार प्राप्त गरेको छ ।
फाइनलमा कटुन्जे युवा क्लब कटुन्जेसँग प्रतिस्पर्धामा उत्रिएका युनिक ब्याइज युथ क्लब तालामाराङले भने द्वितीय स्थानमै चित्त बुझाएको छ ।
उपविजेता बनेसँगै युनिक ब्याइज युथ क्लब तालामाराङले शिल्ड, मेडल सहित नगद रु ७ हजार ५ सय पनि प्राप्त गरेको छ । प्रतियोगिता पूर्व कानुन मन्त्री एवं सिन्धुपाल्चोक क्षेत्र नं.२ का सांसद शेर बहादुर तामाङको प्रमुख आतिथ्यतामा र सामाजिक विकास मन्त्रीका स्वकीय सचिव सिपि दुलालको विशेष आतिथ्यतामा सम्पन्न भएको थियो।
बिजेता टिमलाई प्रमुख अतिथि तथा बिशेष अतिथिले संयुक्त रुपमा पुरस्कार बितरण गर्नुभएको थियो ।