काठमाडौ ।
तत्कालीन राजा वीरेन्द्र शाहको निजी आवासगृह श्रीसदन शनिबार देखि सर्वसाधारणका लागि खुला गरिएको छ ।
नारायणहिटी दरबार सङ्ग्रहालयमा अवस्थित श्रीसदन अवलोकनका लागि खुला गरिएको हो । दरबार हत्याकाण्ड हुनुअघिसम्म श्रीसदनमा वीरेन्द्र, ऐश्वर्य र निराजन बस्दै आएका थिए । राजा वीरेन्द्रको परिवारको वंशनाशपछि उक्त सदन बन्द थियो । विसं २०५८ जेठ १९ गते राजा वीरेन्द्रको वंशनाश हुने गरी भएको दरबार हत्याकाण्ड आधुनिक नेपाली इतिहासको सबैभन्दा चर्चित र विस्मयकारी घटना थियो ।
नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिले सर्वसाधारणले अवलोकन गर्ने गरी श्रीसदनका प्रदर्शनी कक्ष खुलाएको हो । श्रीसदन प्रदर्शनीकक्षको आज उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नारायणहिटी सङ्ग्रहालयलाई राजतन्त्र र विशेषगरी आधुनिक नेपालको इतिहास बुझ्ने एउटा प्रमुख गन्तव्य थलोका रूपमा स्थापित गरिने बताउनुभयो । “इतिहास कसैको दुश्मन हुँदैन, त्यो एउटा घटना हो । यथार्थ हो, त्यसलाई आजीवन संरक्षण गर्न सकियो भने आउने पुस्तालाई पनि ज्ञान हुनेछ”, उहाँले भन्नुभयो ।
आधुनिक नेपालको एकीकरणमा राजतन्त्रको प्रगतिशील भूमिका अविस्मरणीय रहेको जनाउँदै मन्त्री भट्टराईले पृथ्वीनारायणदेखि ज्ञानेन्द्र शाहसम्मको इतिहास नारायणहिटी क्षेत्रभित्र रहने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “आधुनिक नेपाल निर्माणमा नेपालको शाहवंशीय राजतन्त्रले प्रगतिशील भूमिका खेल्यो ।
ब्रिटिश साम्राज्यवाद र उपनिवेशलाई रोक्न तथा नेपालका ससाना राज्यलाई एकीकरण गर्ने महान् कामको अगुवाइ गर्ने पृथ्वीनारायण शाहको भूमिकालाई निकै प्रगतिशील मानिन्छ र आज पनि उहाँको योगदानको सबैले स्मरण गर्ने गरेका छन् । आज श्रीसदन खोलिरहँदा पनि पृथ्वीनारायाण शाहको योगदानको उच्च कदर र सम्मान गर्न चाहन्छु, जुन देशका लागि गौरवपूर्ण ऐतिहासिक कार्य थियो ।”
श्रीसदन विभिन्न इतिहास र समाजको झलक तथा मानवजातिको विकासको जानकारी दिन सान्दर्भिक हुनेछ । दरबारसँग जोडिएका विभिन्न वस्तु, घटनाक्रम, देशका विभिन्न स्थानमा रहेका वस्तुलाई ल्याएर संरक्षण गरिनुपर्नेमा पर्यटनमन्त्रीको जोड थियो । उहाँले नेपालको २४० वर्षे शाहवंशीय राजतन्त्रको साक्षात इतिहासका रूपमा रहने सङ्ग्रहालयमा शाहवंशीय शासनको कसरी शुरु र अन्त्य भयो, त्यसको जीवन्त इतिहास नारायणहिटी सङ्ग्रहालयबाट प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।