चौतारा ।
चौतारा साँगाचोकगढी नगरपालिका अन्तर्गतको पशु सेवा शाखाले बुधबार चौतारा बजारमा छाडा छोडिएका कुकुरहरुलाई रेबिज विरुद्धको भ्याक्सिन लगाएको छ ।
बजार क्षेत्रमा कुकुरले टोक्ने क्रम बढेपछि नगरपालिकाले यो अभियान सुरु गरेको हो । चौतारा साँगाचोकगढी नगरपालिका का नायब पशुसेवा प्राविधिक रविन्द्र सापकोटाका अनुसार बुधबार चौताराका मात्रै ४४ वटा भुस्याहा कुकुरहरूलाई रेबिज विरुद्धको भ्याक्सिन लगाइएको छ ।
उहाँले भन्नुभयोे “रेबिज विरुद्धको भ्याक्सिन लगाइएको कुकुरले टोकिहाले पनि रेबिज लाग्ला भनेर डराउनु पर्दैन“ । तर आफुलाई टोकेको कुकुरलाई रेबिज भ्याक्सिन लगाइएको छ छैन पहिचान गर्न गाह्रो हुने भएकोले कुकुरले टोक्नासाथ तुरुन्तै चिकित्सकको सम्पर्कमा जानुपर्ने उहाँले बताउनुभयो । साथै कुकुरको छेउमा नजान, कुकुरको खाइरहेका बेलामा नजिस्क्याउन उहाँले सुझाए ।
नगरप्रमुख अमान सिं तामाङका अनुसार भुस्याहा नै भएपनि कुकुर मार्न नपाइने कानुन रहेकाले कुकुर नियन्त्रण गर्न निकै गाह्रो अवस्था छ ।
त्यसैले भुस्याहा कुकुर नियन्त्रण गर्न कुकुर बन्ध्याकरण अभियान चलाइने योजना रहेको उनले बताए। उहाँले भन्नुभयो “कुकुरहरूको सङ्ख्या बढ्दै गएकोले एकाबिहानै मर्निङ वाक गर्नेहरु देखि बिधालय जाने बालबालिका समेत त्रसित छन्, अहिले रेबिज भ्याक्सिन लगाउने अभियान चलिरहेको छ अब छिटै कुकुर बन्ध्याकरण अभियान चलाइने छ ।