चौतारा,फागुन १०।
बहुप्रतीक्षित मेलम्ची खानेपानीको साढे २६ किलोमिटर सुरुङमा आज (सोमबार) पानी भर्न थालेर परीक्षण गरिने भएको छ । आवश्यक प्राविधिक परीक्षण सकेर सुरुङमा पानी भर्न सुरु गरिन लागिएको हो ।
आज खानेपानी मन्त्री मणि थापा आयोजनास्थल मेलम्चीमै पुगेर सुरुङमा पानी हालेर परीक्षण गरिने मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए ।
गत असारमै सुरुङमा पानी भनेर परीक्षण गरिएको थियो । तर, हेलुम्बु गाउँपालिका–१ स्थित अम्बाथानको अडिटको मुख्य गेट ९ नं. १७० फुटेर निस्केको पानीले आयोजनाका एक इन्जिनियर र चालकलाई बगाएको थियो ।
त्यसपछि आयोजनाको मुख्य दातृ निकाय एसियाली विकास बैंकको अनुदान सहयोग अन्तर्गत चारजना विशेषज्ञहरुको टोलीले सुरुङ, मुहानस्थल, गेट लगायतका संरचनाको पुनः जाँच गरेको थियो ।
मेलम्ची खानेपानी आयोजना पूरा भएमा उपत्यकामा दैनिक १७ करोड लिटर पानी काठमाडौं उपत्यका ल्याउन सकिन्छ । उपत्यकामा खानेपानीको माग दैनिक ४१ करोड ५० लाख लिटर रहेको अनुमान छ ।