काठमाडौं, फागुन २१ ।
सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच ३ बुँदे सहमति पत्रमा हस्ताक्षर भएको छ ।
राष्ट्रिय सभागृहमा शुक्रबार आयोजित हस्ताक्षर कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवको उपस्थितिमा दुबै पक्षको वार्ता टोलीका संयोजकहरु रामबहादुर थापा बादल र खड्गबहादुर विश्वकर्माले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।
सरकार र विप्लव समूहको नेपाल कम्युनिष्ट पार्टीबीच देशको राजनीतिक समस्याहरु वार्तामार्फत समाधान खोज्ने, नेकपाले राजनीतिक क्रियाकलापहरू शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने र सरकारले नेकपामाथि लगाएको प्रतिबन्ध हटाई कारागारमा भएका नेता कार्यकर्ताको रिहाइ गर्ने सहमति भएको हो ।
सरकारले गृहमन्त्री रामबहादुर थापा र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा.राजन भट्टराईको संयोजकत्वमा वार्ता टोली बनाएको थियो ।
यस्तै विप्लव समूहले खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र उदयबहादुर चलाउने दिपक सम्मिलित वार्ता टोली बनाएको थियो ।