नयाँ अभियान सम्वाददाता,
बैशाख ६,चौतारा ।
सभामुख अग्निप्रसाद सापकोटाले आफूले देश र जनताको हितविपरीत कुनै काम नगर्ने बताएका छन्।
नेपाल पत्रकार महासंघको पद हस्तान्तरण कार्यक्रमको सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
कार्यक्रममा सभामुखले भने, ‘देश र जनताको पक्षमा काम गर्न कसैले मलाई रोक्न सक्दैन। म त्यसका लागि दृढतापूर्वक लागेका छु। म जतिबेला जिम्मेवारीमा रहन्छु, मैले खाएको शपथअनुसार देश र जनताको पक्षमा निरन्तर लाग्छु।’
देश र जनताको काम गर्न रोक्न जस्तोसुकै दबाब र प्रभाव आए पनि नरोकिने बताए। उनले भने, ‘देश र जनताको लागि कुनै कुराको त्याग र जोखिम उठाउन तयार छु। मलाई कसैले रोक्न सक्दैन। म त्यस्तो कुराको वास्ता गर्दिनँ। आफ्नो ढंगले काम गर्छु। देश र जनताको हितविपरीत कुनै काम गरेका छैन। गर्दिनँ पनि।’
उनले प्रधानमन्त्री के पी शर्मा ओलीले हालै सभामुखको नाम लिएरै दिएका अभिव्यक्तितर्फ लक्षित गर्दै उनले आफूले कसैको दबाब र प्रभावबिना काम गरेको र गर्ने बताए ।