चौतारा ।
सिन्धुपाल्चोकमा सोमबार एकैदिन ४ वटा स्थानीय तहमा अस्पतालको शिलान्यास भएको छ ।
संघिय सरकारको सातै प्रदेशमा एकै साथ ३ सय ९६ वटा आधारभूत अस्पतालको दुई वर्षभित्र निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याउने योजना अनुसार सिन्धुपाल्चोकमा पाँचवटा मध्ये चार वटामा आधारभूत अस्पताल शिलान्यास गरिएको हो ।
मेलम्ची नगरपालिकाको मेलम्चीमा, लिंसखुपाखर गाउँपालिकाको डाँडापाखरमा,बलेफी गाउँपालिकाको जलवीरमा र जुगल गाउँपालिकाको बराम्चीमा अस्पताल शिलान्यास गरिएको हो । लिसंखुपाखरमा राष्टिय सभा सदस्य सिंहबहादुर विश्वकर्माले र अन्य स्थानीय तहमा भने सम्बन्धित पालिकाका प्रमुख तथा अध्यक्षले अस्पतालको शिलान्यास गरेका थिए ।
हेलम्बुमा भने आज गरिनुपर्ने शिलान्यास गरिएको छैन । भवन शिलान्यास गरिने स्थानको माटो परीक्षणसहित प्राविधिक जाँचको काम बाँकी रहेकाले सिलान्यास नगरिएको हो ।
जिल्लामा रहेका बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्र, नवरलपुर अस्पताल, चौतारा अस्पताललाई नै आधारभूत अस्पतालको रुपमा विकास गर्ने योजना छ । त्यस्तै पाँचपोखरीमा भने अस्पताल निर्माणधिन छन् । इन्द्रावतीमा नवलपुर अस्पताललाई नै आधारभूत अस्पतालको रुपमा विकास गरिने भएको छ । इन्द्रावतीमा नयाँ भवन निर्माणको काम समेत धमाधम भैरहेको छ ।
जिल्लाका सुनकोसी, भोटेकासी र त्रिपुरा सुन्दरी गाउँपालिकामा कुनै अस्पताल नरहेको र सरकारको योजनामा समेत परेको छैन् ।