बैशाख ७, चैतारा ।
जिल्लाको सदरमुकाम समेत रहेको चौतारा साँगाचोकगढी नगरपालिकाले आफ्नो पालिका भित्रका सम्पुर्ण विद्यालयहरुमा निशुल्क शिक्षा प्रदान गर्ने भएको छ ।
यस अघि आधारभुत तह सम्मको शिक्षा मात्रै निशुल्क प्रदान गर्दै आएको नगरपालिकाले यस शैक्षिक सत्र देखी माध्यामिक विद्यालयसम्मकै शिक्षा निशुल्क गर्ने योजना बनाएको हो ।
नगरको कार्यपालिका बैठकले विद्यालय एकीकरण तथा शिक्षक दरबन्दी मिलान मापदण्ड नै बनाएर निःशुल्क शिक्षा कार्यान्वयनका लागि शिक्षक–विद्यार्थी अनुपातमा गरी शिक्षक समायोजन समेत गरेको छ ।
अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा तथा निःशुल्क माध्यमिक शिक्षा प्रत्याभूत गर्ने अभिप्रायले विद्यालय एकीकरण तथा शिक्षक दरबन्दी मिलान गर्न आवश्यक रहेको नगरप्रमुख कृष्ण प्रसाद सापकोटाले बताउनुभयो ।
“हाम्रो क्षेत्रभित्र स्थापना भई सञ्चालन भइ रहेका विद्यालयहरुको नक्साङ्कन, भौगोलिक अवस्था, जनसांख्यिक संरचना, विद्यार्थी संख्या लगायतका विभिन्न पक्षहरुलाई ध्यान दिँदै विद्यालय जाने उमेर समूहका सम्पूर्ण बालबालिकालाई विद्यालय शिक्षाको पहुँचमा पु¥याउने उद्देश्यले यो कदम थालिएका” उहाँले बताउनुभयो ।
विद्यालयको शैक्षिक गुणस्तर कायम गर्न नगरपालिकाले नगर भित्रका ३८ जना शिक्षकलाई यसै बैशाख ४ गते सरुवा गरेको छ । नगरपालिकाको उक्त कदमलाई नगर मातहतका विद्यालयका विव्यस अध्यक्ष सहित प्रधानाध्यापकहरुले स्वागत गरेका छन् ।
जिल्लाकै जेठो विद्यालय श्री कृष्ण रत्नगंगा माध्यामिक विद्यालयका विद्यालय व्यवस्थापन समिती अध्यक्ष श्यामकृष्ण श्रेष्ठले नगरपालिकाले गरेको निर्णयको स्वगत गर्दै सामाजिक सञ्जालमा लेखेका छन् । “ चौतारा स्थित मैले नेतृत्व गरेको श्री कृष्ण रत्न गंगा मा वि मा आवश्यक शिक्षक दरबन्दी व्यवस्थापन गरी निःशुल्क शिक्षाको दिशामा अघि बढ्न सहयोग गरेकोमा चौतारा साँगाचोक गढी नगरपालिकाका मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृत तथा नगर शिक्षा समिति परिवार प्रति हार्दीक आभार व्यक्त गर्दछु ।”
यस्तै जनविकास माध्यामिक विद्यालयका विव्यस अध्यक्ष अशोक पराजुलीले समेत नगरको निर्णयको प्रशंसा गरेका छन् । उनले गुणस्तरीय निःशुल्क शिक्षाको लागी नगरले उल्लेख्य भुमिका खेलेको बताए् । “चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर,उपमेयर, प्रमुख प्रशासकीय अधिकृत तथा नगर शिक्षा समिति परिवारप्रति हार्दिक आभार व्यक्त गर्दछु । साथै नगरभित्र माध्यमिक तह सम्मको निःशुल्क शिक्षा प्रवाह गर्ने उद्देश्य सहितको विद्यालय समायोजन तथा दरबन्दी मिलानको जनपक्षिय निर्णयलाई हार्दिक स्वागत गर्दछु ।” उनले सामाजिक संजालमा लेखेका छन् ।
यस्तै गोल्मादेवी माध्यामिक विद्यालयका प्रध्यानाध्यापक ज्ञानबहादुर तामाङले समेत नगरपालिकाले गरेका निर्णयको स्वागत गर्दै गुणस्तरीय निशुल्क शिक्षका लागी प्रतिवद्धता जनाएका छन् ।
विद्यालय एकीकरणका मापदण्डमा उल्लेख गरिए अनुसार नगरपालिकाले विद्यालय एकिकरण समेत गरेको छ । मापदण्ड अनुसार हाल प्रारम्भिक बालविकास कक्षा सञ्चालन भइरहेका विद्यालयहरुमा बालबिकास कक्षाको निरन्तरता दिने, बालबिकास कक्षामा बालबालिकाको संख्या ५ जनाभन्दा कम भएमा भूगोल हेरी नजिकको अर्को विद्यालयमा एकीकरण गर्ने तथा कक्षा ३ सम्म सञ्चालित विद्यालयमा प्रति कक्षा १० जना विद्यार्थी हुनुपर्ने । सोभन्दा कम विद्यार्थी भएका विद्यालयमा कक्षा कटौति गर्ने । तर विद्यार्थी संख्या प्रति कक्षा १० जना पु¥याउने स्पष्ट आधारसहित कक्षा सञ्चालन गर्नुपर्ने भएमा त्यस्ता विद्यालयमा पुन कक्षा सञ्चालन अनुमति प्रदान गर्ने । यदि प्रति कक्षा १० जना भन्दा कम विद्यार्थी भएका स्थानका बालबालिका अर्को विद्यालयमा जाँदा आधा घण्टा भन्दा बढी हिड्नुपर्ने भएमा त्यस्ता विद्यालयमा कक्षा कटौति नगरी बहुकक्षा विद्यालय घोषणा गरी सञ्चालन गर्ने मापदण्डमा उल्लेख छ ।
त्यस्तै कक्षा ५ सम्म सञ्चालित विद्यालयमा कक्षा ४ देखि ५ सम्म प्रति कक्षा विद्यार्थी संख्या १० जनाभन्दा कम वा कक्षा ४ र ५ मा गरी जम्मा २० जना विद्यार्थी नभएमा दुवै कक्षा नजिकैको अर्को विद्यालयमा एकीकरण गर्ने तथा कक्षा ८ सम्म सञ्चालित विद्यालयहरुमा कक्षा ६ देखि ८ सम्म प्रति कक्षा १२ जनाभन्दा कम विद्यार्थी भएमा ती कक्षाहरु नजिकैको विद्यालयमा एकीकरण गर्ने उल्लेख छ ।
त्यस्तै कक्षा १० सम्म सञ्चालित विद्यालयमा विद्यार्थी संख्या प्रति कक्षा १५ जना भन्दा कम भएमा कक्षा ९ र १० नजिकैको अर्को विद्यालयमा एकीकरण गर्ने र कक्षा १२ सम्म सञ्चालित विद्यालयमा कक्षा ११ र १२ मा कुनै पनि ऐच्छिक विषय सञ्चालन गर्नका लागि कम्तीमा १० जना विद्यार्थी हुनु पर्ने । यदि विद्यालयमा भर्ना भएका विद्यार्थी संख्या १० भन्दा कम भएमा सो विषय सञ्चालन भएको नजिकैको विद्यालयमा विद्यार्थी पठाउने र उक्त विषयको कक्षा सञ्चालन नगर्ने उल्लेख छ ।