चौतारा ।
लैंगिक हिंसा अन्त्यको प्रतिवद्धता व्यक्ति समाज र सबैको ऐक्यबद्धता भन्ने मुल नाराका साथ बिहिबार चौतारामा सरोकारवालाका बिच जिल्ला स्तरिय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानको अन्तिम दिन तथा मानव अधिकार दिवसको अवसरमा जिल्ला समन्वय समितिको आयोजनामा भएको सो कार्यक्रमका प्रमुख अतिथि माननिय जिल्ला न्यायाधीश महेन्द्र बहादुर कार्कीले आफुले महिला हिंसाको घटनाको बिषयमा पीडितको पक्षमा नै फैसला गर्ने गरेको, पीडितलाई कानुनी उपचारमा अन्याय हुन नदिने र महिला हिंसा न्युनिकरणको लागि आफुले सकेको सहयोग गर्ने बताउनुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले समाजमा रहेको सबैको ऐक्यबद्धता भएमा हिंसाका घटना कम हुने र हिंसामा परेतापनि कानुनी उपचारको लागि एक्लोपना महसुस गर्न नपर्ने बताउनुभएको छ ।
जिल्ला समन्वय समितिका उपप्रमुख बालकुमारी सापकोटाको सभापतित्वमा भएको सो कार्यक्रमको समापन गर्दै महिला हिंसा अन्त्यको लागि १६ दिनमात्रै अभियान संचालन गरेर मात्रै नपुग्ने हुँदा ३६५ दिन नै अभियानको रुपमा संचालन गरिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा मन्तव्य राख्दै चौतारा साँगाचोकगढी नगरपालिकाको उपप्रमुख जानुका पराजुली, बाह्रबिसे नगरपालिकाको उपप्रमुख सुशिला पाख्रिन, भोटेकोशी गाँउपालिकाको उपाध्यक्ष दाबुटी शेर्पाले समन्वय र सहकार्यको कमिले नै महिला हिंसाका घटनाहरुमा कमि नआएको स्वृकार गर्नुभएको छ ।
कार्यक्रममा प्रहरी उपरीक्षक राजन अधिकारी, जिल्ला अनुशन्धान प्रमुख सरोज निरौला लगायत सरकारी तथा संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
सो कार्यक्रममा लैंगिक हिंसा र जिल्लाको बर्तमान अबस्था मानवअधिकार कर्मि नातिबाबु धिताल, महिला हिंसा र कानुनी व्यवस्थामा बिषयमा नेपाल बार यसोसियसनका कोषाध्यक्ष सुनिता तामाङ , कोभिड १९ को कारण महिला र किशोरीमा परेको असरको बारेमा मानव अधिकार तथा सामाजिक न्याय मन्च जिल्ला अध्यक्ष सिता थापा र कोभिड १९ का कारण बालबालिकाको अबस्थाका बिषयमा हर्क तामाङले कार्यपत्र समेत प्रस्तुत गर्नुभएको थियो ।