चौतारा, फाल्गुन २ ।
सिन्धुपाल्चोकमा दोश्रो चरणको खोप अभियान सुरु भएको छ । खोप अभियान सुरु भएका पहिलो दिन चौतारा खोप केन्द्रमा ५० र मेलम्ची खोप केन्द्रमा २० गरी जम्मा ७० जनाले कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप लगाएको स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
दोस्रो चरणको खोप अभियान सिन्धुपाल्चोक जिल्लामा जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङले पहिलो खोप लगाएर शुरुवात गरेका हुन् ।
त्यस्तै निजामति कर्मचारीहरुको तर्फवाट जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल लगायत जिल्लाका सवै सरकारी कार्यालयका प्रमुखहरुले खोप लगाएका छन् । त्यस्तै पत्रकारहरुमध्येवाट पहिलो खोप ओखरेनी साप्ताहिकका प्रधान सम्पादक, रेडियो सिन्धुका कार्यक्रम संचालक तथा शव्द सारथीका अध्यक्ष अमित घिमिरेले लगाएका छन् ।
सिन्धुपाल्चोक जिल्लाको ४ स्थानमा खोप केन्द्र स्थापना गरेको छ । जस अनुसार चौतारा अस्पतालमा रहेको खोप केन्द्रमा चौतारा साँगाचोकगढी नगरपालिका र जिल्लाका सरकारी कार्यालयहरु, जलविरे प्राथामिक स्वास्थ्य चौकीमा रहेको खोप केन्द्रमा वलेफी गाउँपालिका र जुगल गाउँपालिका, बाह्रविसे प्राथामिक स्वास्थ्य केन्द्रमा भोटेकोशी गाउँपालिका, बाह्रविसे नगरपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, सुनकोशी गाउँपालिका र लिशंखुपाखर गाउँपालिका र मेलम्ची प्राथामिक स्वास्थ्य केन्द्रमा हेलम्वु गाउँपालिका, पाँचपोखरी गाउँपालिका, मेलम्ची नगरपालिका र इन्द्रावती गाउँपालिका व्यक्तिहरुले खोप सेवा लिन पाउँने छन् ।
दोस्रो चरणको खोप जनप्रतिनिधिहरु, अग्रपङ्तीमा काम गर्ने सरकारी कर्मचारी, पत्रकार, बैंकका कमचारीहरुलाई प्रदान गर्ने स्वास्थ्य कार्यालयका प्रमुख दुर्गादत्त चापागाईले जानकारी दिए ।
पहिलो चरणमा स्वास्थ्यकर्मी, एम्बुलेन्स तथा शववाहन सवारी साधनका चालक, खोप फोहरमैला व्यवस्थापनमा खटिने फोहर संकलक तथा चालक, खोप केन्द्र खटिने सुरक्षाकर्मी तथा स्वयंसेवक, शव व्यवस्थापनमा खटिने व्यक्ति, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, वृद्धाश्रममा रहेका व्यक्ति तथा हेरचाहमा खटिने कर्मचारी तथा कारागारमा रहेका कैदी र सुरक्षाकर्मी गरी १ हजार १ सय ६९ जनालाई लगाइएको थियो ।