रञ्जित आचार्य, १४ फाल्गुन ।
हरेक २ वर्षमा हुनुपर्ने स्ववियू चुनाव २०६५ सालदेखि एकै पटक आठ वर्षपछि २०७३ मा मात्रै भयो , त्यसपछि पनि ५ वर्ष बितिसक्यो निर्वाचन को छनक छैन रु विद्यार्थी सङ्गठन र नेता दलगत स्वार्थमा दलको मुख पत्र बन्दा आम विद्यार्थी मुख पत्र विहीन, अभिभावक विहीन हुँदै गएका छन् ।
देशका राजनीतिक परिवर्तनहरूमा विद्यार्थीहरूको सक्रिय सहभागिता थियो र रहन्छ । युवा समृद्ध देशको आधार स्तम्भ भनेजस्तै विद्यार्थी राजनीतिको आधार स्तम्भ बनेका छन् । अझ शिक्षा र युवा दुवैलाई समेट हुने गतिविधिले धेरैको ध्यान तान्छ, स्ववि चुनाव यस्तै एउटा मोड हो । विद्यार्थीको सरकार भनेर विश्वव्यापी मान्यता स्थापित गरेको यस्तो चुनाव शिक्षाका विभिन्न बेथितिहरूलाई सम्बोधन गर्दै विद्यार्थीको हकहित प्रत्याभूति गर्नलाई एक आवश्यकता समेत हो ।
हाम्रो शिक्षा प्रणालीमा असङ्ख्य समस्याहरू छन् । दीक्षितहरू शिक्षाले दिनुपर्ने दक्षता र विशिष्टता प्राप्त नगरेको महसुस गर्छन् । विश्वविद्यालयहरू निराश मनस्थिति भएका बेरोजगार जन्माउने यन्त्र बन्दै छन् । प्राध्यापक शिक्षकहरू शिक्षामा कम र राजनीतिमा बढी सक्रिय छन् । यस्ता अनेकौँ समस्याको निराकरणमा विद्यार्थीको सरकार भनिने यस्तो निकायको सकारात्मक योगदान चाहिन्छ । १०औ लाख विद्यार्थीको हक अधिकार को रक्षा गर्दै शैक्षिक क्षेत्रमा रहेको विकृति हटाउन स्वबिया ले महत्त्वपूर्ण भूमिका खेल्नुपर्दछ।
विश्वविद्यालयका प्राध्यापकको विज्ञता र विद्वत्ताको परिमिश्रबाट समाज अग्रगमन गराउने नयाँ चिन्तनहरू प्रस्फुटन हुन्छन् । नासाका वैज्ञानिक प्राध्यापकहरू म गलग्रहमा मानव बस्ती बसाउन अनुसन्धान गर्दै छन् । संसारमा सबैभन्दा धेरै वटा संस्कृत विश्वविद्यालयहरू रहेको जर्मनीका थुप्रै प्राध्यापकहरू ज्ञानको खोजमा नयाँ क्षितिज केलाउँदै छन् । पूर्वीय दर्शनमा ज्ञानको विशाल भण्डार सृजना गरेका कौटिल्य तत्कालीन तक्षशिला विश्वविद्यालयका प्राध्यापक थिए । राज्यले सबै विषयमा अन्तिम धारणा बनाउन उनको सहयोग लिन्थ्यो । संसारका नामुद दर्शन तथा सामाजिक एवं आर्थिक परिवर्तनका सूत्रपात गर्नेहरू अधिकांश प्राज्ञिक पृष्ठभूमिकै छन् ।
समुन्नत राष्ट्रनिर्माण सिद्धान्तका प्रतिपादकहरू हान् वन्द्योपाध्याय, सी हार्बर, जान जी जान म्याट शिक्षाको गुणस्तर र समसामयिकतालाई उच्च महत्त्व दिन्छन् । प्राचीन दर्शनमा पूर्वका कौटिल्य, कन्फ्युसियस, मनुदेखि पाश्चात्य जग तका प्लेटो, सुकरातले समेत शिक्षामा राज्यको विशेष निगरानी तथा प्रयासको आवश्यकता दर्साउँथे ।
विकसित देशहरूले त ‘एजुकेसन इजा द चीफ डिफेन्स अफ सेसन’ अर्थात् राष्ट्रको मुख्य सक्षमता नै शिक्षा हो भन्छन् । सोही कुरा आत्मसात् गरेर जापानले दोस्रो विश्वयुद्धपछि धेरै वर्षसम्म बजेटको लगभग ४९ प्रतिशत शिक्षामा लगाउँथ्यो । हाम्रो बजेटको विशाल हिस्सा शिक्षामा नै जान्छ ।
समृद्ध देश निर्माण त्यो खर्चको एक मात्र र अन्तिम अपेक्षा हो । उच्च शिक्षामा भएका यही आशाको प्रत्याभूति गर्न सकारात्मक, समन्वयकारी काम गर्नु विद्यार्थीको सरकार भनिने त्यसको सङ्गठनको प्रमुख जिम्मेवारी हो । तर विद्यार्थी राजनीतिको ध्यान अन्तै बिटुलिएको छ । यसलाई सही मार्गमा हिँडाउनु हाम्रो दायित्व हो।
सरकारी शिक्षा भयावह अनि निजी शिक्षा व्यापारीकरण हुँदै छ । हाम्रो शिक्षाले केवल खाडी मुलुकलाई कुल्ली र विकसित देशलाई प्राविधिक जनशक्ति पठाउँदै छ । सहरका गल्ली९गल्लीमा विदेश पठाउने परामर्शदाताहरू छन् । हामीले अभ्यास गरेका शिक्षाले देशको प्रगति सोच्ने, त्यसका लागि काम गर्ने मानव स्रोतसाधन तयार गरेकै छैन ।
शिक्षा भनेको प्रमाणपत्रको थाक र सूचनाको भारी हैन, सोच र चेतनाको स्तर हो । सत्कर्म, सदाचार र शिष्टाचार बढवा गर्ने कुरा हो । तर विद्यार्थीको राजनीतिले शिक्षामा यस्तो विशेषता निर्माण गराउन सकेको छैन ।
पहिले पहिले विद्यार्थीको पढ्ने अधिकार स्थापित गर्न विद्यार्थी राजनीतिको अभ्यास हुन्थ्यो । धर्ना, जुलुस बाहेक अन्य कुराहरूमा विद्यार्थी राजनीति केन्द्रित हु नसकेको छैन ।
कलेज प्रशासनलाई भर्ना, परीक्षा जस्ता पक्षमा दबाब दिइन्छ । विद्यार्थी राजनीति गर्न र त्यसलाई कमाई खाने भाँडो बनाउन एक मानिस वर्षौँसम्म विश्वविद्यालय आइरहन्छ । प्रशासनको मिलेमतोमा भ्रष्टाचार गरिएको पनि सुनिन्छ । देशमा अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाउने हैसियतमा शिक्षण गतिविधि गरिरहेका केही संस्थाहरू छन् ।
उनीहरू विद्यार्थी राजनीतिलाई कति पनि चाहँदैनन् । अधिक राजनीतिका र बेवास्ताका कारण क्षमताले भ्याएसम्म कसैको पनि प्राथमिकतामा सरकारी शिक्षा पर्दैन । विद्यार्थी राजनीति पढ्न चाहने विद्यार्थीलाई आस कम र त्रास बढी बन्दै छ ।
अधिकांश विद्यार्थीहरू राजनीतिले गर्दा अध्ययन९अध्यापन अस्तव्यस्त रहेको भन्छन् । यसरी विद्यार्थीका कस्ता हक अधिकार सम्भव हुन्छ, यो प्रश्न पेचिलो बन्दै छ । सघन विद्यार्थी राजनीति हुने कलेजका उत्पादन अधिकांश असफल देखिन्छन् । यसले पनि विद्यार्थी राजनीतिले गलत पथ लिएको प्रमाण दिन्छ । तर विश्वगतमा विद्यार्थी राजनीतिका अलौकिक उदाहरणहरू पनि प्रशस्त छन् ।
विद्यार्थी राजनीतिका अनुपम उदाहरण
थुप्रै देशमा सबल र सक्षम विद्यार्थी राजनीतिमा हुन्छन् । शिक्षाको परिवर्तनमार्फत देशको अग्रगमनलाई जोड दिन्छन् । अमेरिकामा सन् २००९ पछिका शोधले अहिलेका अधिकांश चिन्तक, दार्शनिकहरू पहिले विद्यार्थी राजनीतिमा भएको देखाउँछ । क्याम्ब्रिज विश्वविद्यालयमा राजनीतिमा संलग्न विद्यार्थीहरूले घरविहीनका लागि घर निर्माण गरेका उदाहरण छन् । चलिरहेका पाठ्यक्रमको उपादेयतामा छलफल गर्दै समय सुहाउँदो पाठ्यक्रम ल्याउन उनीहरू सहयोग गर्छन् ।
समुदायमा गएर मानिसहरूलाई सचेत गराउँछन् । बेलायतका अधिकांश कलेजहरूमा सनेस युनियन अफ स्टुडेन्ट नामक स्ववि जस्तै सङ्गठन हुन्छ । त्यसका सदस्यहरू मानिसलाई अध्ययन गर्ने संस्कार बसाउने, सीपमूलक तालिम दिने, समुदायको सरसफाइ गर्ने, सरकारलाई कानुन कार्यान्वयनमा सघाउने, प्रहरीलाई अपराधी नियन्त्रणमा सघाउने कामहरू गर्छन् ।
पोल्यान्डका विद्यार्थी सङ्गठनहरूले सहरका चोकमा धनीहरूबाट सहयोग सङ्कलन गरी गरिबहरूलाई बाँड्ने गरेको देखिन्छ । जापान, कोरिया, हङकङ जस्ता देशहरूमा विद्यार्थी सङ्गठनले देशको आवश्यकता अनुसार दक्ष, प्राविधिक, वैज्ञानिक प्रकारको शिक्षा प्रणाली निर्माण गर्न सघाउँछन् । शैक्षिक गतिविधिलाई नियमित र निःसन्देह बनाउँछन् ।
विद्यार्थीहरू सकेसम्म धेरै दक्ष र लाभान्वित बनुन् भन्ने उद्देश्य राख्छन् । विश्वविद्यालयबाट मात्र सम्भव नभए सङ्गठनको तर्फबाट विद्यार्थीका लागि अतिरिक्त कक्षाहरू चलाउँछन् । सरकार तथा विश्वविद्यालयका तर्फबाट हुने शिक्षाका विकासका सशक्त सहयोगी बन्छन् ।
अब स्ववि तथा पुरै विद्यार्थी राजनीति पुनर्गठित बन्नुपर्छ । विद्यार्थीको गुणस्तर प्रवर्द्धनको पहल गर्नुपर्छ । उनीहरूको सिकाइ क्रियाकलापले समाजलाई दिएको योगदानको मूल्याङ्कन गर्नुपर्छ । अनुसन्धानमा लगानी गर्नुपर्छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय सभा तथा सेमिनार गर्दै नयाँ प्रकारका पाठ्यक्रम निर्माण गर्नुपर्छ ।
देशमा आगामी ५, १० र १५ वर्षभित्र शिक्षामा हुनुपर्ने परिवर्तनको मार्गचित्र बनाउँदै त्यसको अभ्यास गर्नुपर्छ । रामरमिता, लडाईं र झगडाको मात्र पर्यायवाची बन्ने परम्परा विस्थापित हुनुपर्छ ।
अहिले गुणस्तरीय, उत्पादनमूलक, वैज्ञानिक र प्राविधिक शिक्षाको आवश्यकता छ । विद्यार्थीको राजनीतिले देशको आर्थिक विकासलाई सघाउने र दीक्षितलाई आत्मनिर्भर गराउने नयाँपन शिक्षा सृजनामा योगदान गर्नुपर्छ । समयमै नतिजा प्रकाशन गर्ने, समय÷समयमा पाठ्यक्रम पुनरावलोकन गराउने, विद्यार्थीहरूमा अनुसन्धानात्मक सोच र व्यवहार साथै सदाचारको विकास गराउने कुरा विद्यार्थी राजनीतिको प्राथमिकता हुनुपर्छ ।
शिक्षा देशका सबै मानिसहो जिज्ञासाको विषय हो । विद्यार्थी राजनीति शिक्षामा सकारात्मक परिवर्तनको एक मात्र र पहिलो कारण बनेको देखिनुपर्छ । त्यस बेला स्वबिया निर्वाचनमा जनमानसको सरोकार रहन्छ ।
अन्यथा विश्वविद्यालय र कलेजहरूलाई राजनीतिक पार्टीका स्थायी र दुर्गन्धित गोठ बनाउँदै दलहरूको शक्ति र सम्भाव्यता परीक्षण गर्न मात्र हुने स्ववि चुनावको खासै महत्त्व रहँदैन । त्यसैले स्वबिया कार्य परिमार्जन गरी यसको गरिमा लाई कायम राख्नुपर्दछ, राजनीतिक दाउपेच मात्रै नभई शैक्षिक समस्या हल गर्नु र आम विद्यार्थीको अभिभावक बन्नुपर्छ ।
लेखक आचार्य अनेरास्ववियूका केन्द्रीय सदस्य हुन् ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |