२१ बैशाख,चौतारा ।
सिन्धुपाल्चोकका बाढी पहिरो पीडितले निजी आवास निर्माणका लागि जनहि ५ लाख पाउने भएका छन्।
सरकारले विपदमा परेर घरबार गुमाएकाहरुको निजी आवास निर्माण गर्न लागि ५ लाखका दरले रकम बितरणा गर्न लागेको हो ।
सरकारले सिन्धुपाल्चोकसहित बाढी पहिरोबाट घरबार गुमाएका २२ जिल्लाका पीडितको नीजि आवास निर्माण गर्नको लागि रकम दिन लागेको हो ।
घर पूर्ण रुपमा क्षति भएकाले हिमाली जिल्लामा ५ लाख, पहाडमा ४ लाख र तराईमा ३ लाख पाउने भएका छन् । सिन्धुपाल्चोक हिमाली जिल्ला भएकाले पीडितले ५ लाख पाउने छन् ।
यो तीन किस्तामा सम्बन्धित पीडितले पाउने छन् । सिन्धुपाल्चोकको हकमा पीडितले पहिलो किस्ता ५० हजार, दोस्रो २ लाख ५० हजार र तेस्रो २ लाख पाउनेछन् । यो आवास निर्माणको कार्यप्रगति हेरेर प्रदान गरिनेछ ।
घर पूर्ण क्षति भएकाले अस्थायी रुपमा बस्नका लागि बास बनाउन अस्थायी आवास अनुदान ५० हजार पाउने छन् । पहिलो किस्तामा २५ हजार र दोस्रो किस्तामा २५ हजार पाउने कार्यविधिमा उल्लेख छ ।
आंशिक क्षति भएकालाई घर प्रबलीकरण तथा मर्मत गर्न ५० हजार दिइनेछ । त्यस्तै घडेरीसमेत नभएकालाई घडेरी किन्नका लागि ३ लाख अनुदान दिने भएको छ ।
गत बर्षको बर्खामा बाढी र पहिरोबाट क्षति भएकाहरुको निजी आवास निर्माणका लागि सरकारले यस्तो अनुदान दिन लागेको हो ।
अनुदान रकम स्थानीय, प्रदेश र संघीय सरकारले समुहिक रुपमा व्यहोर्ने छन् । कार्यविधि अनुसार गाउँपालिका, नगरपालिका, उपमहानगरपालिकाले क्रमशः १०, १५ र २० प्रतिशत तथा प्रदेश सरकारले ३० प्रतिशत र बाँकी संघीय सरकारले व्यहोर्ने छ ।
लागत सहभागिताका आधारमा जिल्ला विपद व्यवस्थापन कोषमा रकम जम्मा भएपछि प्रमुख जिल्ला अधिकारीले सम्बन्धित लाभग्राहीको खातामा पठाउने विधि तय भएको छ । यसको समन्वय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले गर्नेछ ।
गत वर्ष लगातारको वर्षाले सिन्धुपाल्चोकका जम्बु, खागदल, लिदी, नागपुजेलगायतका क्षेत्रमा पहिरोबाट ठूलो जनधनको क्षती भएको थियोे ।
त्यसपछी सभामुख अग्निप्रसाद सापकोटाको बिशेष पहलमा सिन्धुपाल्चोक जिल्लालाई सरकारले बिपद संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो।