बैशाख २२,चौतारा ।
भोलि बैशाख २३ गते देखि सिन्धुपाल्चोकका नौ स्थानीय तहमा निषेधाज्ञा जारी गरिएको छ । आज बुधबार बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले चौतारा साँगाचोकगढी नगरपालिका सहित ९ स्थानीय तहका केही क्षेत्रमा वैशाख २३ देखि वैशाख ३१ सम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
निषेधाज्ञा जारी भएका क्षेत्रमा अतिआवश्यक काम बाहेक घर बाहिर ननिस्कन प्रशासनले सबैमा अनुरोध समेत गरेको छ ।
बैठकले चौतारा साँगाचोकगढी नगरपालिका, बलेफि गाउँपालिका र भोटेकासी गाउँपालिकाको अरनिको राजमार्ग सिन्धुपाल्चोक खण्डको बन्देउ देखि खाडिचौर बाह्रबिसे हुँदै तातोपानी सम्मको दायाँ बायाँ ५ सय मिटर, सुनकोसी र लिसंखु पाखरको गाउँपालिकाको खाडिचौर देखि ठूलोपाखर हुँदै मुडे सडक खण्डको सिन्धुपाल्चोक जिल्ला भित्र दायाँ बायाँ ५ सय मिटर खण्डमा निषेधाज्ञा जारी गरिएको छ ।
यस्तै चौतारा साँगाचोकगढी नगरपालिका बन्देउ देखि चौतारा सदरमुकाम जोड्ने सडकको चौतारा हुँदै स्याउले दायाँ बायाँ ५ सय मिटर, मेलम्ची र हेलम्बुको जिरो किलो हुँदै बाहुनेपाटी सिपाघाट, मेलम्ची सेरा हेलम्बुको किउल सडक खण्डको दायाँ बायाँ ६ सय मिटर निषेधाज्ञा गरिएको छ ।
चौतारा नगरपालिका वडा नम्बर ४, ५ र ९ वडाको सम्पूर्ण क्षेत्र, मेलम्ची ११ का सम्पूर्ण क्षेत्रहरु र बलेफि र जुगलका बलेफि देखि नौबिसे जलविरे ढाडे कात्तिके सडक खण्डको दायाँ बायाँ २ सय मिटर क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ ।