२ जेठ, चौतारा ।
नेपाललाई चीन सरकारले सहयोग स्वरुप दिने भनिएको १८ हजार थान अक्सिजन सिलिण्डर तातोपानी नाका भएर आउने भएको छ ।
यो हप्ताभित्र सिन्धुपाल्चोकको तातोपानी नाका भएर सो परिणामको अक्सिजन सिलिण्डर नेपाल भित्रिने लागेको भन्सार कार्यालय सिन्धुपाल्चोकले जनाएको हो ।
नेपाल सरकारको अनुरोधमा चीन सरकारबाट उपलव्ध हुने ती सिलिण्डरहरू चीनको नाल्यमबाट नेपालतर्फ अगाडि बढेको अनौपचारिक जानकारी प्राप्त भएको भन्सार प्रमुख नारदमणी गौतमले बताए ।
चीन सरकारले उपचारमा सहयोग पुगोस भनेर सिलिण्डरहरू नेपाललाई दिएको हो । भन्सार प्रमुख गौतमका अनुसार सो परिणामको सिलिण्डरसहित निजी क्षेत्रले मगाएको ७५ सय अक्सिजन सिलिण्डर पनि तातोपानी नाका भएर नेपाल भित्रिँदै छ ।
सीमामा आएको समान तुरुन्त अनलाइन मार्फत जानकारी हुने र त्यसलाई छिटो प्रक्रियाबाट काठमाडौ पठाइने उनले जानकारी दिए ।
नेपालमा अक्सिजन अभावको कारण अस्पतालहरूमा कोरोनाका बिरामीलाई उपचार गर्न समस्या भइरहेको बेला चीन सरकारले दिएको अक्सिजनले उपचारमा ठुलो सहयोग मिल्ने छ ।