असार २, चौतारा ।
सिन्धुपाल्चोकमा बिगत केहि बर्ष यता प्रकृतिले निकै नै ठगिरहेको छ ।
७१ साल यता मात्र यहाँ प्राकृतिक विपत्तिमा ज्यान गुमाएकाको संख्या ४ हजार आसपास पुगिसकेको छ। कमजोर भूबनोट, नदी किनारमा केन्द्रित अव्यवस्थित बसोबास र उस्तै कमजोर संरचनाका कारण सिन्धुपाल्चोकमा बर्सेनि आउने विपत्तिमा ज्यान गुमाएकाको संख्या थाहा पाउँदा कहाली नै लाग्छ।
सिन्धुपाल्चोकले २०७१ साल यता लगातार ठूला प्राकृतिक विपत्ति व्यहोरिरहेको छ। ती विपत्तिबाट भएको मानवीयरभौतिक क्षति यस्तो छः
२०७१ साउन १७ गते खसेको जुरे पहिरो : १४५ जनाको मृत्यु, घर, विद्युत गृह, विद्यालय, रिसोर्ट, निजी व्यापारिक फर्म समेत १५३ घर पूर्ण रूपमा क्षति।
२०७२ बैशाख १२, १३ र २९ गतेको विनाशकारी भूकम्प : ३ हजार ५ सय ७१ जनाको मृत्यु, १ हजार ५६५ जना घाइते, ८ जना बेपत्ता, ७८ हजार ५३७ घर पूर्ण रूपमा क्षति।
२०७३ असार २१ गते आएको भोटेकोशी बाढी : लिपिङ बजारका ३० घर बगाएको, तातोपानी नयाँ बस्तीका ३० घरमा क्षति, अरनिको राजमार्ग बन्द।
२०७४ साउन ८ गते राति खसेको पहिरो : लार्चा पुल बगाउँदा भोटेकोशी र तातोपानीको सम्पर्क विच्छेद, अरनिको राजमार्ग अवरुद्ध।
२०७५ भदौ २ गते राति साँधी खोलामा आएको पहिरो : पक्कीपुल बगाएको, २२ घरमा लेदो पसेको, १२ घर जोखिममा परेको।
२०७७ असार २४ गते राति जम्बु बजारमा पहिरो : बाह्रबिसे नगरपालिका वडा नं ५ को जम्बु बजार पहिरोले पुरिँदा २ जनाको मृत्यु, १७ जना बेपत्ता, २५ घर बस्न नमिल्ने गरी क्षतिग्रस्त, बाह्रबिसेकै खागदलमा बाढी पहिरोले बस्ती पुरिँदा २२ घर क्षतिग्रस्त।
भोटेकोशी गाउँपालिकाको बुल्कुटे पहिरोमा एक जनाको मृत्यु, तीन जना बेपत्ता, लार्चामा पहिरोले १३ घर क्षतिग्रस्त भएपछि गाउँ नै विस्थापित। अरनिको राजमार्गका खागदल र बुल्कुटेको दुईवटा पक्कीपुल क्षतिग्रस्त, लार्चाका विस्थापितलाई तातोपानीस्थित ड्राइपोर्टमा राखिएको।
२०७७ असार ३१ गते राति फुल्पिङगाउँमा खसेको पहिरो : भोटेकोशी गाउँपालिकाको फुल्पिङगाउँमा खसेको पहिरोले पुर्दा एकै परिवारका ५ जनाको मृत्यु, ३ घर पूर्ण रूपमा क्षतिग्रस्त।
२०७७ साउन १८ राति खसेको पहिरो : मेलम्ची नगरपालिकाको मेलम्ची बजार नजिकैको पहिरोमा परी ९ जना मजदुरको मृत्यु , सोहि रात बरुवामा घर पुरिएर २ जनाको मृत्यु।
२०७७ साउन २२ गते परेको अविरल बर्षा : कारण चौतारा साँगाचोकगढी नगरपालिका-२, सेराफाँटमा ४ घर पुरिएर क्षति। बलेफी कात्तिके सडक अवरुद्ध। सयौं रोपनी धानखेत बगाएको।
२०७७ साउन ३० बिहान लिदीमा खसेको पहिरो : जुगल गाउँपालिकाको वडा नं २, गोल्चेस्थित लिदीमा गएको भीषण पहिरोमा ३७ घर पुरिएको। पहिरोमा पुरिएर बेपत्ता भएका ३९ जनाको मृत्यु।
२०७८ साल असार १ गते साँझदेखि चलिरहेको बाढी : सिन्धुपाल्चोकको मेलम्ची, इन्द्रावती, ब्रम्हायणी र भोटेकोशीमा भीषण बाढी आइरहेको छ। मेलम्ची खोलाले तिम्बु, चनौटे र मेलम्ची बजारमा निकै क्षति पुर्याएको छ।
नदी तटीय क्षेत्रका १ जनाकाे शव भेटिएको छ भने अझै केही बेपत्ता छन्। बाढीकाे एकिन क्षति विवरण प्राप्त हुन समेत सकेकाे छैन।