असार १०,मेलम्ची ।
गत असार १ गते आएको मेलम्ची बाढीको डुवानमा परेको रेडियो मेलम्ची र बाढी प्रभावित पत्रकारलाई नेपाल पत्रकार महासंघ, केन्द्र र जिल्ला शाखाले आर्थिक सहयोग उपलब्ध गराएको छ ।
शुक्रवार मेलम्ची ईण्द्रेश्वरी माबिको प्राङ्गणमा भएको एक कार्यक्रममा नेपाल पत्रकार महासंघ केन्द्रीय वरिष्ठ उपाध्यक्ष रमेश बिष्टले जिल्ला शाखा अध्यक्ष जीवन श्रेष्ठलाई रु ५० हजारको चेक हस्तान्तरण गर्नु भयो ।
सोही कार्यक्रममा अध्यक्ष श्रेष्ठले रेडियो मेलम्चीका अध्यक्ष डम्बर रसिक भारतिलाई हस्तान्तरण गर्नु भयो । त्यस्तै बाढीबाट प्रभावित नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाका पूर्व अध्यक्ष महेशकुमार श्रेष्ठलाई जिल्ला शाखा सिन्धुपाल्चोकको तर्फबाट केन्द्रीय वरिष्ठ उपाध्यक्ष बिष्ट र जिल्ला अध्यक्ष जीवन श्रेष्ठले रु पचास हजारको चेक संयुक्तरुपमा हस्तान्तरण गर्नुभयो ।
कार्यक्रममा पत्रकार महासंघ केन्द्रले बाढी प्रभावित सञ्चारकर्मीहरुको अवस्था अध्ययन गर्दै राहत तथा उदारका लागि बाढी प्रभावित सञ्चार संस्था तथा पत्रकारहरुको अनुगमन मिसन गठन गरेको जानकारी दिंदै रेडियो मेलम्चीका लागि थप सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नु भयो ।
जिल्ला अध्यक्ष जीवन श्रेष्ठले आपत र बिपतमा पत्रकार महासंघ सधैं साथमा रहने उल्लेख गर्दै रेडियो मेलम्चीको भवन पुनर्निर्माणका लागि थप सहयोग उपलब्ध गराउने प्रतिबद्धता जाहेर गर्नु भयो ।
अध्यक्ष श्रेष्ठले यस अघि पनि पत्रकार महासंघ जिल्ला शाखाले कोभिडबाट प्रभावित ७ पत्रकारलाई जनही दस हजारको दरले सहयोग उपलब्ध गराई सकेको र मेलम्ची बाढीबाट प्रभावित शाखा सदस्य जगन्नाथ दुलालाई पनि आर्थिक सहयोग उपलब्ध गराईने जानकारी दिनु भयो ।
कार्यक्रममा समग्र मेलम्चीको अवस्था बारे मेयर डम्बर अर्यालले जानकारी दिनु भएको थियो रेडियो मेलम्चीका अध्यक्ष भारतिले मेलम्ची रेडियोको अवस्था बारे प्रकाश पार्नु भएको थियो ।
त्यस्तै सोही कार्यक्रममा संरचना टोल सुधार समिती, तार्केश्वर काठमाडौले रेडियो मेलम्चीलाई रु १ लाख१ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ ।