२५ असार, चौतारा ।
विपद्को अवस्थामा परिचालनका लागि स्वयमेवकहरुलाई अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ ।
जिल्ला विपद् व्यवस्थापन समिति सिन्धुपाल्चोकमा प्रतिवद्ध रहेका नेपाल रेडक्रस र नेपाल स्काउटको स्वयम सेवकहरुसँग शुक्रबार अभिमुकिखरण कार्यक्रम गरिएको हो ।
साना ठूला विपदको अवस्थामा तत्काल खोज तथा राहत उद्धारका लागि एकीकृतरुपमा शीघ्र सेवा दिने अवधारणाले जिल्ला विपद व्यवस्थापन समिति सिन्धुपाल्चोकको गत असार १३ को निर्णय अनुसार नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सिन्धुपाल्चोकका मन्त्री कमचरण कक्षपतिको संयोजकत्वको स्वयमसेवक परिचालन समितिले उक्त कार्यक्रम आयोजना गरेको हो ।
विपदमा आवद्ध हुने स्वयम् सेवकका लागि आचार संहिता बनाएको र उक्त आचार संहिता अनुरुप परिचालन हुन स्वयम्सेवकहरुले प्रतिवद्धतामा हस्ताक्षर समेत गरेका छन् ।
स्वयमसेवकको टोलीमा हाल नेपाल रेडक्रस तथा स्काउटको क्षेत्रगतरुपमा ६२ जनाको नाम अद्यावधी गरेको छ भने स्वयमसेवक परिचालनका लागि नेपाल पत्रकार महासंघ, जनहित र सिडिईसिएफ लगायतका संघसंस्थाबाट पनि थप स्वयमसेवक उपलव्ध गराउने समितिले जनाएको छ ।