चौतारा,साउन १२ ।
सिन्धुपाल्चोक जिल्लामा नदीको बगरबाट अबैधरुपमा नदीजन्य पदार्थको उत्खनन र चोरी निकासी बढेको छ ।
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ११ मा रहेको बच्छला क्रसर उद्योगले अबैध रुपमा नदीजन्य पदार्थको उत्खनन्न गरी निकासी गरेको पाइएको छ ।
खानी तथा नदीजन्य पदार्थको उत्खनन कार्यको अनुगमनको जिम्मेवारी जिल्ला समन्वय समितिलाई दिइएको छ, जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले असार १ गते नै सुचना जारी गरी ३ महिना सम्म नदिबाट नदिजन्य पदार्थ उत्खनन गर्न नपाउने भनि सुचना जारी समेत गरेको छ ।
नीतिगत व्यवस्था अनुसार सो समयमा बगर उत्खननमा एक्साभेटर (डोजर)को प्रयोग गर्न नपाइने जिल्ला समन्वय समितिका प्रमुख कृष्ण गोपाल तामाङ बताउछन् । तर सो सूचनाको धज्जि उडाउदै बच्छला क्रसर उद्योगले खुलेआम रुपमा नदिमा नै एक्साभेटर (डोजर) लगाएर बालुवा उत्खनन गरिरहेको छ ।
क्रसरले बगरमा बिहान, साँझ र रातिमा एक्साभेटर परिचालन गरेर बालुवा निकालेर निकासी गरिरहेको नाम नबताउने शर्तमा एक स्थानियले बताए ।
अबैधरुपमा उत्खनन र ढुवानीमा संलग्न व्यक्तिलाई पक्राउ तथा साधनलाई नियन्त्रणमा लिने, जरिवाना तिराउने र उत्खनन भएका नदीजन्य बस्तु जफत गर्ने गरेको जिल्ला समन्वय समिति प्रमुख तामाङले बताए । सो बापत यस बर्ष मात्रै ३ लाख भन्दा बढि राजश्व संकलन भैसकेको समेत उनले जानकारी दिए ।
सिन्धुपाल्चोक जिल्लामा २० वटा क्रसर उद्योग सञ्चालनमा रहेको घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख रामशरण गौतमले जिल्लामा सञ्चालनमा रहेका क्रसर उद्योगहरुले आफुहरुलाई नटेर्ने गरेको बताए ।
केही क्रसरहरु बाहेक धेरैले नियमानुसारको अध्यावधिक समेत नगर्ने गरेको उनले बताए । ‘हामीले उद्योग अध्यावधिक गर्नको लागि पटकपटक पत्राचार गरेपनि धेरै उद्योगहरुले अध्यावधिक गर्ने गरेका छैनन ।’ कार्यालय प्रमुख गौतमले बताए ।
यस विषयमा कुरा गर्न बच्छला क्रसर उद्योगका सञ्चालक इन्द्र गिरीलाई मोबाइलमा फोन गर्दा फोन सम्पर्क हुन सकेन ।