३२ साउन, चौतारा ।
सामुदायिक बिधालयले बिभिन्न बाहानामा शुल्क उठाएको प्रति चौताराका युवाहरुले आपत्ति जनाएका छन् ।
सरकारले संविधानमा नै विद्यालय शिक्षा निशुल्क हुने भनी घोषणा गरेपनि सामुदायिक विद्यालयहरुले विभिन्न नाममा शुल्क लिएको विरुद्धमा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढि नगरपालिका वडा नं.५ चौताराका युवाहरुले विरोध जनाएका हुन् ।
युवाहरुको संयुक्त हस्ताक्षर गरेको ज्ञापनपत्र सोमबार जिल्ला प्रशासन कार्यालय, चौतारा साँगाचोकगढी नगरपालिका र नेपाल पत्रकार महासंघलाई छुट्टाछुट्टै बुझाएका छन् ।
सरकारले माध्यमिक तहसम्म शिक्षा निशुल्क हुने घोषणा गरेपनि अधिकाँश विद्यालयहरुले विद्यार्थीहरुसँग अनेक वहाना बनाई शुल्क असुल्न नछाडेपछि युवाहरु जागरुक बनेका हुन् ।
जिल्लाका अधिकांश विद्यालयहरुले अंग्रेजी माध्यममा पठनपाठन गराइरहेका छन् । दरबन्दीका शिक्षकहरुले सो माध्यमा अध्यापन गराउन नसक्ने भएपछि विद्यालयहरुले निजी स्रोतमा शिक्षक भर्ती गर्ने गरेका छन् । उनै शिक्षकहरुलाई तलब खुवाउने नाममा मासीक सहयोग तथा भर्ना सहयोग भन्दै विद्यालयहरुले चर्को शुल्क लिने गरेका छन् ।
सहयोग भनेको स्वैच्छिक हुन्छ तर सहयोगको नाममा अंग्रेजी माध्यममा पढाउनका लागि स्थानिय तहले नै निजी प्रकाशनका महंगा पुस्तक तोकीदिने गरेका छन् ।
यसरी निशुल्क शिक्षा पाउनुपर्ने अधिकारलाई स्थानीय तहले नै बञ्चीत गराई विद्यार्थीसँग शुल्क उठाउन प्रोत्साहन गरिरहेका छन् ।