चौतारा, असोज ११ ।
कोभिड–१९ विरुद्धको खोप लगाउन हेलिकप्टरमार्फत स्वास्थ्यकर्मीको टोली तेम्बाथान पुगेको छ ।
हेलिकप्टर मार्फत कोरोनाको खोप पुगे सँगै सिन्धुपाल्चोक जिल्लाको बिकट मानिने जुगल गाउँपालिका वडा नं. ३ तेम्बाथान, दिपु तथा गुम्बाका १८ वर्ष माथिका सबै नागरिकले कोरोना विरुद्धको खोप पाएका छन् ।
ती गाँउहरुमा पैदल यात्रामा आवतजावत गर्न पूर्ण रूपमा अवरुद्ध भएको हुँदा कोरोना विरुद्धको खोप बोकेर स्वास्थ्यकर्मी हेलिकप्टर मार्फत सो गाउँमा पुगेका हुन् ।
आइतबार हेलिकप्टर मार्फत तेम्बाथान पुगेको टोलीले १ सय १८ जना पुरुष र १ सय ११ महिला गरी २ सय २९ जना १८ वर्ष माथिका नागरिकहरूलाई भेरोसेल खोप लगाएको स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका खोप अधिकृत पार्थमणि पौडेलले जानकारी दिए ।
उनका अनुसार ४७ जनालाई पहिलो मात्राको र १८२ जनालाई दोस्रो मात्राको खोप लगाइएको हो ।
पैदल मार्ग अवरुद्ध भएर सो गाँउहरुमा खोप पुर्याउन नसकेको कारण विकल्प खोज्न भन्दै गाउँपालिकाको स्वास्थ्य शाखाले जिल्ला स्वास्थ्य कार्यालयलाई पत्र पठाएको थियो । सोही पत्रको आधारमा अध्ययन गर्दा अन्य विकल्प नभेटेपछिले जिल्ला कोभिड १९ व्यवस्थापन समितिको समन्वय तथा नेपाली सेनाको सहयोगमा ती गाँउहरुमा खोप सहित स्वास्थ्यकर्मी हेलिकप्टर मार्फत पुर्याइएको वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाँइले जानकारी दिए ।
आइतबार पुगेको स्वास्थ्य टोलीले सो गाउँमा खोप लगाउन छुट भएका नागरिकहरू तथा गुम्बा स्वास्थ्य चौकी मार्फत गुम्बा क्षेत्रका बासिन्दाहरूको लागि आवश्यक थप खोप गरी ५ सय ७१ डोज भेरोसेल खोप समेत सम्बन्धित स्वास्थ्य संस्थालाई हस्तान्तरण गरेको छ ।
ती गाउँ जोडने एक मात्र झोलुंगेपुल गत असारको बाढीले बगाएको थियो । हाल ती गाउँका मानिसहरू तुइनबाट आवतजावत गरिरहेका छन् ।