चौतारा, असोज १४ ।
नागरिक समाज पारस्परिक जबाफदेहिता परियोजना अन्तर्गत आज चौतारा आयोजनाको ढिलाइ कारण र असर विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
उक्त अन्तर्क्रियामा पत्रकार महासङ्घका सचिव÷सञ्चारकर्मी विदुर आचार्यले छलफल पत्र प्रस्तुत गरेका थिए ।
त्यसपछि शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख कृष्ण सुवेदीले विद्यालय पुनर्निर्माण पनि ढिलाइ भएको र कार्यपत्रमा आएको धनेश्वरी माध्यामिक विद्यालयका अवस्था यथार्थ भएको र साथै अन्य १०० विद्यालय यस्तै समस्याबाट गुज्रिएको बताए । यसका लागि आवश्यक समन्वय गरिने पनि प्रतिबद्धता समेत जनाए ।
त्यस्तै कार्यक्रममा बोल्दै पूर्वाधार विकास कार्यालयका प्रमुख राजु श्रेष्ठले आयोजनाहरू पछिल्लो अवस्थामा कोभिड र बन्दाबन्दीको कारणले समयमा नै सक्न नसकिएको र राज्यको तर्फबाट समयमानै बजेट निकासा नहुँदा पनि ढिलाइ भएको बताए ।
त्यस्तै स्वास्थ्य कार्यालयका प्रमुख दुर्गादत्त चापागाईले स्वास्थ्यसँग सम्बन्धित संरचना निर्माण अन्तिम प्राथमिकतामा परेको र यसको निर्माण अर्कैले गरिदिने र हामी उपभोग गर्ने भएकोले पनि यस बारेमा जिल्ला स्वास्थ्य कार्यालय अनविज्ञ हुने गरेको बताए ।
अन्तमा सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जिल्ला प्रशासन कार्यालय समयमा नै आयोजना सम्पन्न हुनुपर्दछ भन्ने कुरामा अडिग रहेको बताए । उनले अझै पनि आयोजना सम्पन्न गर्न समन्वयकारी भूमिकाको लागि जिल्ला प्रशासन कार्यालय सदैव तयार भएको समेत बताए ।
देशमा तीन तहका सरकार छन् । तीनै वटा सरकारले प्राथमिकता दिएको भौतिक विकासका कामको प्रगति देखिएता पनि समग्रतामा विकास आयोजनाहरू समयमा सम्पन्न भएका र सहज रूपमा सम्पन्न भएको सायदै मात्र पाइन्छ । फाइदामुखी जनसहभागिता, एउटै निर्माण कम्पनीले एक भन्दा बढी आयोजनाको जिम्मेवारी लिने र कार्य प्रगतिमा विलम्ब गर्ने लगायत समस्याले विकास आयोजनाले निर्धारित समयमा पूर्णता पाउन नसकेको प्रशस्त उदाहरण छन् ।
यान्त्रीकरण र प्रविधि प्रयोगलाई सञ्चार र प्रविधिकै माध्यमबाट नियाली रहेका आम नागरिकले अपेक्षा गरिएका विकासको प्रारम्भ भने नभएको होइन । सुरुवात भएका विकासबाट सुविधा भोगको पर्खाइमा रहेका नागरिकहरू कतिपय योजना निर्माण प्रक्रिया नियाल्दा नियाल्दै थाकेका समेत छन् ।
सडक समयमा निर्माण सम्पन्न हुन नसक्दा त्यस ठाउँको खानेपानी लाइनमा समस्या रहिरहने, स्वास्थ्य भवन निर्माण नहुँदा औषधीजन्य सामाग्रीको गुणस्तर बिग्रने तथा प्रसूति लगायतका सेवा सुचारुमा समस्या रहने, खानेपानीकै समस्या कारण वर्षौँसम्म नागरिकले दुख पाई रहेका छन् ।
विकास आयोजना निर्धारित समयमा सम्पन्न नहुँदा एकातर्फ राष्ट्रको लागत बढ्छ भने नागरिकहरूले सुविधा भोगको आसमा दुख पाई रहेका सामुदायिक सारथीको जिल्ला संयोजक उमेश विश्वकर्मा बताए ।