सिन्धुपाल्चोक, कात्तिक ३ ।
नेपाल सरकार संघिय संसद्का सभामुख अग्निप्रसाद सापकोटाले गठबन्धनको सरकारले बिस्तारै गति लिँदै गएको बताएका छन् ।
बुधवार आफ्नो जन्मथलोमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्न आएका सभामुख सापकोटाले बिस्तारै गठबन्धनको सरकारले गति लिएको बताएका हुन् ।
जटिल राष्ट्रिय राजनैतिक अवस्थाको कारण गठबन्धनको सरकारले २ महिनासम्म लयमा फर्कन नसकेको गुनासो गर्दै सापकोटाले अब सरकारले गति लिएको बताएका हुन् ।
चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ४, कुविण्डेमा अवस्थित कुविण्डे दुग्ध उत्पादक सहकारी संस्थाको २९ औं वार्षिक साधारण सभामा सहभागी हुन पुगेका सापकोटाले सरकार सञ्चालनको लागि विपक्षी दल लगायत सबैसँग छलफल भइरहेको समेत बताएका छन् ।
उनले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा विपक्षी दलसँग छलफल भइरहेको र छिट्टै संसद्को गतिरोध अन्त्य हुने बताएका हुन् ।
उनले भने ‘प्रधानमन्त्री सहित म पनि सर्वदलीय बैठक आयोजना गरेर संसद् सञ्चालन गर्ने वातावरण तयार पार्दै छौँ ।’ कसैको प्रभाव र दभावमा रहेर कुनैपनी राष्ट्र हित विपरीत निर्णय नलिने समेत उनले स्पष्ट पारेका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै सापकोटाले देश र जनताको हित विपरीत काम गरेर शिर झुकाउने काम कदापि नगर्ने समेत बताए ।
पछिल्लो समयमा अविरल वर्षाका कारण किसानले भोग्नु परेको समस्यालाई सम्झँदै सापकोटाले किसानहरूले सधैँ सास्ती भोग्नुपरेको प्रति दुख समेत व्यक्त गरेका छन् ।
‘वर्ष भरि बिउ र मलको लागि भौँतारिरहेका किसानहरू खेतमा लगाएको बाली पाक्न लाग्दा सुनौला धानका दाना हेरेर खुसी साट्दै थिए तर पुन सहन नसक्ने पीडा थपिएको छ ।’ उनले भने ।
सिन्धुपाल्चोक जिल्लाको दुग्ध उत्पादन क्षत्रले परिचित कुविण्डेको सो सहकारीले दैनिक १५ सय लिटरभन्दा धेरै दूध सङ्कलन गरिरहेको सहकारीका अध्यक्ष प्रेम प्रसाद सापकोटाले जानकारी दिए ।