अर्जुन शर्मा, तातोपानी, कात्तिक ५ ।
उत्तरी नाका तातोपानीकाट रासायनिक मल नेपाल भित्रिन शुरु गरेको छ । कृषि सामग्री कम्पनी लिमिटेडले चीनसँग माग गरेको रासायनिक मल तातोपानी नाका हुदै भित्रिन शुरू गरेको हो ।
हरेक बर्ष रासायनिक मलको अभाव झेलिरहेका नेपाली किसानको लागि यस वर्ष मलको अभाव हुन नदिन समयमा नै उत्तरी नाकाबाट मल ल्याउन सुरु गरिएको हो ।
किसानहरुले धानबाली भित्र्याई सकेपछि आलु तथा गुहँबाली सुरू गर्ने गर्दछन् । त्यसका लागि मलको अभाव हुन नदिने उद्देश्य राखी कृषि सामग्री कम्पनीले चीनबाट मल झिकाउन समयमै ठेक्का प्रक्रिया अगाडी बढाएको थियो ।
तातोपानी नाकामा आगरिएपनि प्रकृयागत तयारी गरी तातोपानी भन्सार कार्यालयबाट काठमाण्डौस्थित साल्ट ट्रेडीङ कर्पोरेसनको गोदाममा पठाउने तयारी भइरहेको भंसार कार्यालयले जानकारी दिएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट ढुवानीको अनुमति पाएको सिल्क ग्रुपले ढुवानीको सम्झौता गरी चिनबाट उक्त मल तातोपानी नाका हुँदै नेपाल ल्याएको हो ।
५ हजार १ सय मेट्रिक टन मल आयातको अनुमती पाएको सिल्क ग्रुपले तातोपानी नाका हुँदै हालसम्म ३ सय ४० मेट्रिक टन युरिया मल भन्सार प्रक्रिया पूरा गरी राजधानी भित्रिएको तातोपानी भन्सार कार्यालयले जानकारी दिएको छ ।अब सम्झौता भएको बाँकी मल नेपाल भित्रने क्रममा रहेको छ ।
चीनबाट नेपाल भित्रिएको युरिया मलको प्रगतीबारे जानकारि दिँदै आयात ढुवानी कम्पनी सिल्क ग्रुपका अध्यक्ष रमेश शेर्पाले एक महिना भित्र आफूहरुले जिम्मा पाएको ५ हजार १ सय मेट्रिक टन युरिया मल सबै नेपाल भित्रिसक्ने जानकारी दिए ।
नेपाल सरकारले यसअघि पनि उत्तरी नाका तातोपानी हुँदै साल्ट ट्रेडिङ कम्पनीमार्फत चीनबाट चार हजार मेट्रिक टन युरिया मल भित्र्याएको थियो ।
नेपालमा भारत, बङ्गलादेश र चीन लगायतका देशबाट रासायनिक मल भित्रिने गरेको छ । हरेक बर्ष रासायनिक मलको अभाव झेलिरहेका नेपाली किसानको लागि यस वर्ष मलको अभाव हुन नदिन समयमा सरकारले विशेष ध्यान पुराउनु पर्ने देखिन्छ ।