चौतारा, कात्तिक ६ ।
नेकपा एमाले चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ४ को वडा सम्मेलनबाट जिम्मेवारी पाएका रुद्र प्रसाद सापकोटाले अध्यक्ष पद अस्वीकार गरेका छन् ।
उनले एक विज्ञप्ति जारी गर्दै उक्त पार्टी प्रति आफ्नो कुनै संलग्नता नरहेको र नेकपा (माओवादी केन्द्र) मा नै सङ्गठित रहेको बताएका हुन् ।
शनिवार सम्पन्न वडा भेलामा बागमती प्रदेशका पूर्व वन तथा पर्यटन मन्त्री एवम् प्रदेश सभा सदस्य सरेश नेपाललाई भेट्न पुगेका सापकोटालाई जबरजस्ती जिम्मेवारी सुम्पिएको उनको आरोप छ ।
उनले विज्ञप्तिमा भनेका छन्, ‘नेकपा एमालेका जिम्मेवार व्यक्तिहरूले तपाई सँग छलफल छ भनी बोलाएर त्यहाँ नियत बस मलाई वडा कमिटीको प्रमुख बनाएता नि सो पार्टी प्रति कुनै संलग्नता नरहेको स्पष्ट पार्न चाहन्छु ।’
माओवादी केन्द्रको पकड क्षेत्र मानिने सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ४ कुविण्डेमा नेकपा एमालेको अधिवेशनबाट वडाध्यक्षमा रुद्रप्रसाद सापकोटालाई जिम्मेवारी सुम्पेको थियो ।