अर्जुन शर्मा, सिन्धुपाल्चोक ।
भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले भूमिहीनहरूको हातमा चाडै नै लालपुर्जा पुग्ने बताएकी छिन् ।
बर्षौ देखि लालपुर्जाको पर्खाइमा रहेका अधिकांश भूमिहीनहरूलाई लालपुर्जा तत्काल वितरण गरिने गरी सरकारले काम सुरु गरिसकेको बताएकी हुन् ।
नेकपा (माओवादी केन्द्र) भोटेकोसी गाउँपालिकाको प्रथम सम्मेलनलाई सम्बोधन गर्न पुगेकी मन्त्री श्रेष्ठले ओली नेतृत्वको सरकारले प्रचार मात्रै गरेर जनतालाई झोक्याएको आरोप समेत लगाएकी छिन्
आफू मन्त्री भएर कार्यभार सम्हालेपछि अगिल्लो सरकारले गरेको प्रगतिको अध्ययन गर्दा भूमिहीनको समस्याको समाधानमा प्रचार भए अनुसारको १० प्रतिशत पनि काम नभएको पाइएको उनले बताइन् । कहिकही थोरै काम भएको भएता पनि सन्तोषजनक काम नभएको उनको आरोप छ ।
पैतृक सम्पत्तिमा समान हक अधिकारको कुरा संविधानमा लिपिबद्ध भएता पनि व्यवहारमा नल्याइएकोमा दुख व्यक्त गर्दै मन्त्री श्रेष्ठले भनिन्, कानुन आयोगको प्रमुख सँग छलफल भैसकेको छ अब अंशियारको रूपमा महिला पनि रहने कुराको सुरुवात भएको समेत उनले बताएकी छिन् ।
यसैबिच गाउँपालिकाको प्रथम सम्मेलनले लाक्पा शेर्पा अध्यक्ष रहने गरी ५५ सदस्यीय कमिटी चयन गरेको छ । कार्यक्रममा १ सय ५० भन्दा बढीले विभिन्न पार्टी परित्याग गरी अबको राजनीतिक यात्राको साथी माओवादी केन्द्रलाई रोजेका छन् ।
पार्टी प्रवेश गर्नेहरूलाई कार्यक्रमका प्रमुख अतिथि सँगै विशेष अतिथि माओवादी केन्द्रका केन्द्रीय सदस्य माधव सापकोटा सुबोध, सरल सहयात्री पौडेल लगायतले माला र अबिर लगाएर स्वागत गरेका थिए ।