तौथली, मंसिर २२ ।
सिन्धुपाल्चोक जिल्लाकै पुरानो र ऐतिहासिक त्रिपुरासुन्दरी गाउँपालिकाको तौथली बजारस्थित एक हजार वर्ष पुरानो त्रिपुरासुन्दरी देवीको मन्दिरबाट मूर्ति र कलश चोरी भएको छ ।
त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष भुपेन्द्र श्रेष्ठका अनुसार करिब सय वर्ष पुरानो भगवतीको मूर्ति र कलश साथै १० वर्ष पुरानो दुईवटा कलात्मक बिष्णुको मूर्ति चोरी भएको हो ।उनका अनुसार तीनवटा तामाको कलश समेत चोरी भएको छ ।
मंगलबार करिब २ बजे मध्यरातमा ३ वटा बाइकमा आएका अन्जान युवकहरु तीव्र वेगले मन्दिरमा आएको स्थानीयहरूले देखेको बताएका छन् ।
बेलुकी बालेको बत्ती निभाउन जाँदा पूजापाठ सुरु गर्दा मन्दिरको ढोका खुला देखेको र हेर्दा मूर्ति कलश नरहेको स्थानीयहरूले बताएका छन् ।
सो मन्दिरमा रहेको मुर्ति बिगतमा समेत २ पटक हराइसकेको समेत पालिकाका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।