पुष १५, चौतारा ।
आगामी पुस १८ गते सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ९, गुफाडाँडामा तेस्रो जलवायु दिवस मनाइँदै छ । वि.सं. २०७५ सालमा जिल्ला समन्वय समिति, सिन्धुपाल्चोकको आयोजनामा भएको जलवायु सम्मेलनको निरन्तरतास्वरुप जलवायु दिवस मनाइँदै आएको हो ।
आर्थिक गतिविधि छैन पारदर्शि
जिल्ला समन्वय समितिले जलवायु सम्मेलनको आर्थिक हिसाब अझै सार्वजनिक गरेको छैन । पुष १० गते शनिबार जिससले राखेको पत्रकार सम्मेलनमा सो सम्बन्धी कुरा उठान गर्दा आफूहरूले पहिले नै सो विवरण सार्वजनिक गरेको भन्दै जिसस प्रमुख कृष्णगोपाल तामाङ पन्छिएका थिए ।
तामाङले आफूहरुले जलवायु सम्मेलन सकिएको १५ दिनमा सांसद अरुण नेपाल प्रमुख अतिथि बनाएर खर्च विवरण पेश गरिसकेका बताए तर पत्रकारहरूले सो बैठकको माइन्यूटसहित खर्च विवरण माग गर्दा उनले उपलब्ध भने गराउन सकेनन् ।
वि.सं. २०७५ मा पहिलो पटक जलवायु सम्मेलन हुन लागेकाले जिल्लामा क्रियाशील धेरैजसो गैरसरकारी सङ्घसंस्थाहरूले खुलेर आर्थिक सहयोग गरेका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा भएको उक्त सम्मेलनमा देशभरका जिल्ला समन्वय समितिका प्रमुख वा उपप्रमुखको उपस्थिति थियो । उनीहरूले पनि प्रतिजिल्ला १० हजार रुपैयाँका दरले शुल्क बुझाएका थिए ।
जिल्लामा सञ्चालित क्रसर उद्योगले समेत सो सम्मेलनमा ठुलै रकम सहयोग गरेका सा्रेतले जनाएको छ । त्यसबाहेक जिल्ला समन्वय समिति, सिन्धुपाल्चोकको आफ्नो स्रोत सहित जिल्लाका धेरैजसो स्थानीय पालिकाहरुले समेत सो सम्मेलनका लागि आर्थिक सहयोग गरेका थिए । सम्मेलनपछि पनि विभिन्न स्रोतबाट रकम संकलन गरी दुइ पटक जलवायु दिवस बनाइसकेको छ ।
तेस्रो जलवायु दिवसको समेत तयारी अन्तिम चरणमा पुगिसकेको छ । तर आजसम्म जिसस सिन्धुपाल्चोकले सो सम्मेलनसहित दुईवटा जलवायु दिवसमा भएको आम्दानी खर्चको विवरण सार्वजनिक गरेको छैन । सञ्चारकर्मीहरुले दिएको सुझावलाई नकार्दै तामाङले आफु ज्यादै ज्याद्रो मान्छे भएकाले आफुले चाहेका काम गर्दै जाने बताए ।
जिसस प्रमुख ,उपप्रमुख र सदस्यको कुरा बाझियो
अघिल्ला जलवायु सम्मेलनको आर्थिक विभागको प्रमुख समेत रहेकी जिसस सदस्य सकुन्तला माझीले पहिलो सम्मेलनमा संचारमाध्यमका लागि ९ लाख खर्च भएको र बेरुजु अझै बसेको बताईन् ।
प्रमुख तामाङले ४ लाख रुपैयाँ खर्च गरिएको बताईरहँदा तामाङको भनाइलाई काट्दै उपप्रमुख सापकोटाले ६ लाख रुपैयाँ खर्च भएको बताईन् । सो कुरालाई समेत काट्दै आर्थिक विभाग प्रमुख माझीले भने ९ लाख रुपैयाँ खर्च भएको उल्लेख गरिन् ।
यस्तो छ यो वर्षको कार्यक्रम
जिसस सिन्धुपाल्चोकले यस वर्ष पनि पुस १८ र १९ गते जलवायु दिवस मनाउँदै छ । सो कार्यक्रममा काठमाण्डौंबाट साइकल यात्रा, विद्यावारिधि गर्ने सिन्धुपाल्चोकबासीलाई सम्मान र गुफाडाँडाबाट रेस्लिङ कार्यक्रम समेत राख्दैछ । रेस्लिङ कार्यक्रमले जलवायुको प्रभावको विषयमा खासै अर्थ नराख्ने तर्क समेत हुदै आएको छ ।
यो वर्षको आर्थिक स्रोत
जिल्ला समन्वय समितिले खेलकुद कार्यक्रममा छुटाएको ५ लाख बजेटबाट रेस्लिङ कार्यक्रम राखेको छ । जिससको ५ लाख बजेटमा खेलकुदको ५ लाख खर्च गरी १० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । दोस्रो दिन मेलम्चीमा हुने सम्मानित व्यक्ति र जिल्लाका सबै स्थानीयतहको प्रमुखहरुको विचमा जलवायु अनुकुलन तथा विपद् जोखिम न्युनिकरणको बारेमा हुने अन्तरकृया कार्यक्रमको खर्च मेलम्ची नगरपालिकाले व्यहोर्ने तामाङले बताए । गैर सरकारी संस्थाले मायाको चिसोमा सहयोग गर्ने तामाङको भनाई छ ।