बैशाख ८, चौतारा ।
चौतारा साँगाचोकगढी नगरपालिकामा पछिल्लोपटक नेकपा एमालेले जनाधार मात्र हैन हैसियतवाला नेता पनि गुमाएको छ ।
स्थानीय तहको निर्वाचन नजिकिएसँगै उम्मेद्वारीको तयारीका लागि जुटनु पर्ने एमाले यतिखेर झर्ला र खाउँला भन्ने दाउमा छ । आफ्नै दलबाट हैन अन्य कुनै दलबाट कोही आएर मेयर र उपमेयरको उम्मेद्वार बनिदेला भन्ने आशामा एमाले रहेको छ । आफ्नै पार्टीभित्र मेयर र उपमेयरका लागि हुति र बुद्धि भएका कुनै पनि नेता नभेटेपछि एमालेले यस्तो आश गरेको हो । त्यसो त केही व्यक्तिलाई मेयरमा सिफारिस गरे पनि उनीहरुको हैसियत “बैकल्पिक”मा सीमित हुने स्रोतको दावी छ । यदि कोही अन्य पार्टीबाट प्रवेश गरेको खण्डमा अहिले सिफारिस गरेकाहरु स्वत पछाडि हट्ने छ स्रोतले भन्यो । एक त कमजोर पार्टी अर्को मेयर र उपमेयरका लागि योग्य कुनै व्यक्ति नपाएपछि यो निर्वाचन एमालेका लागि खाउँ भने दिनभरिको सिकार नखाउँ भने कान्छा बाउको अनुहार भने जस्तै हुने पक्कै छ ।
एमालेको पतन र माओवादी उदयको संक्षिप्त संलेषण
कुनै बेला एमालेको बर्चस्व रहेको यो नगर (हालसमेटिएको गाविसहरु) माओवादी शान्तिपूर्ण राजनीतिमा अवतरण भएपश्चात भने एमालेले आफ्नो साख गुमाउँदै आएको छ । संविधानसभाको दुबै निर्वाचनमा माओवादीलाई यो नगरबाट उल्लेख्य भोट गएको थियो । २०७४ सालको स्थानीय तहको निर्वाचनमा मेयर उपमेयरसहित १४ वटा वडामध्यमा ७ वटा वडामा माओवादीले विजय हासिल गरेको थियो । २०७९ बैशाख ३० को स्थानीय तह निर्वाचनको मुखमा आइपुग्दा माओवादीको साख यसरी चुृलिएको छ कि माओवादीलाई हराउन कि त अरु सबै दल एक हुन पर्ने देखिन्छ कि त माओवादीभित्र नै विद्रोह मच्चाउनु पर्ने देखिन्छ । जसको वीजारोपण पनि भइसकेको छ । माओवादी केन्द्रका केन्द्रीय सदस्य कृष्णप्रसाद सापकोटा देशवन्धुले यो नगरको मेयर पदमा दावी गरेपछि निवर्तमान मेयर ( आज मात्र राजिनमा दिएको ) अमानसिं तामाङको दोहोर्याउने सपना मात्र चैट भएको छैन एमाले र काँग्रेसले माओवादीभित्र देख्दै गरेको खण्डिकरणको सपना पनि पुरा हुने भएको छ । त्यति मात्र हैन उनीहरु खासगरि एमालेले पार्टी प्रवेश गरेको खण्डमा निवर्तमान मेयर तामाङलाई सिन्दुर जात्रा गरि पार्टीभित्र प्रवेश मात्र गराउने छैनन्, मेयरको उम्मेद्वार पनि बनाउने पक्कापक्की भएको छ । हुन त आफूसँग सवल र सक्षम उम्मेद्वार नभएपछि लाज सरम छोडेर यति गर्नु एमालेका लागि नौलो कुरो पनि नहुन सक्छ । त्यसमाथि सुभास कर्माचार्य, सोम सापकोटा जस्ता सवल नेतृत्व नै समाजवादीमा गएपछि भने अहिले एमाले यति कमजोर बनेको छ कि उसले आफू जित्न कि त नाक गुमाएर तालमेल गर्नुपर्ने हुन्छ ।
माओवादीभित्रको किचलो र एमालेको आश
माओवादीभित्र यतिखेर मेयरको सवाललाई लिएर आन्तरिक द्वन्द मौलाएको छ । मेयरको पदमा कृष्णप्रसाद सापकोटा र वहालवाला मेयर अमानसिं तामाङ दुबैको दावी रहँदै आएको छ । दुबै जना कुनै पनि हालतमा मेयर नछोड्ने पक्षमा देखिन्छन र यदि मेयरको टिकट सापकोटाले पाएमा तामाङले विद्रोह गर्ने छन र एमाले प्रवेश गर्ने मात्र छैन एमालेको तर्फबाट मेयरको उम्मेद्वार बन्ने छन । यही आशामा एमालेहरु आँ गरेर बसेको प्रष्ट देखिन्छ ।
केन्द्रीय पहुँच र सिनियर राजनीतककर्मी भएको हैसियतमा सापकोटाले नै मेयरको टिकट पाउने पक्का छ । यता निवर्तमान मेयर तामाङ सके माओवादीबाट नसके अरु पार्टीबाट भए पनि मेयर उठ्ने दाउमा रहेको बुझिन्छ र बजारमा खासगरि यही हल्ला नै यतिखेर भाइरल पनि भएको छ । यसबीच तामाङ र पार्टी अध्यक्ष प्रचण्डबीच पनि संवाद भइसकेको छ र निष्कर्ष सकारात्मक हुन सकेको छैन । त्यसो त राजनीतिक गणितलाई राम्ररी बुझेका मेयरको तामाङले आवेगले यही निर्णय गर्लान त ? त्यो प्रश्न जवाफ सायद बढीमा भोलिसम्म टुँगो लाग्ने छ । तर एमालेको जनमतको नाडी समातेर आँकलन गर्न सिपालु निवर्तमान मेयर तामाङ यति सहजै एमालेबाट उम्मेद्वार बन्ने छाँट भने देखिँदैन । उनी हार्नका लागि एमालेबाट उम्मेद्वार बन्न लागेका हैनन् र एमालेको जनधार यतिखेर गइगुज्रेको रहेको उनलाई प्रष्ट थाह छ । पछिल्लोपटक जिल्लामा एमालेको भन्दा काँग्रेसको जनाधार बलियो हुँदै गएको छ । त्यही भएर एकचरण उनले नेपाली काँग्रेसको नेता मोहनबहादुर बस्नेतसँग एक चरणको वार्ता पनि गरिसकेका छन् । खासगरि चौतारा साँगाचोकगढीभित्र एमालेको बलियो जित्ने आधार नभएकै कारण उनले विकल्पको रुपमा काँग्रेससँग वार्ता थालेको बुझ्न सकिन्छ ।
संभावित गठवन्धन र संभावित परिणाम
पाँच दलिय गठवन्धन भयो भने नगरमा अरु दलको काम आरिसले मुड्की बजार्ने बाहेक अरु केही हुने छैन । पाँच दयलय गठवन्धनको विरुद्ध अरु महागठवन्धन भए पनि पाँच दलिय गठवन्धनकै जीत हुने छ र यो गठवन्धनको रौं पनि अरु दलले हल्लाउन सक्ने छैन ।
कुनै पनि दलबीच गठवन्धन भएन र सिंगल सिंगल चुनावमा गयो भने माओवादीको आगडि कसैको केही लाग्ने छैन । सिंगलफेसको चुनावी फेस टु फेस प्रतियोगितामा माओवादीको फेस नै विजयी हुने फेस हो । यसबीच माओवादीबाट कुनै व्यक्ति अरुको दलमा गएर मेयरको उम्मेद्वार बने पनि माओवादीलाई त्यति असर पर्ने देखिँदैन ।
चौतारा साँगाचोकगढीभित्र एमाले र राप्रपाबीच मात्र तालमेल हुँदा पनि माओवादी एक्लैलाई हराउन हम्मे हम्मे पर्ने देखिन्छ । तर एमाले र काँग्रेस बीच तालमेल भयो भने माओवादीलाई प्रतिकूल हुन सक्छ ।
पछिल्लो संभावित गठवन्धन जे पनि हुन सक्छ । किनकि राजनीति भनेकै जे पनि हुने खेल हो । यसमानेमा एमालेले जित्नकै लागि भए पनि मेयर तामाङलाई टिकट दिने छ । र राप्रपालाई उपमेयर दिएर निर्वाचनमा होमिने छ भन्ने धेरैको अनुमान भए पनि एमाले र काँग्रेसबीचको तालमेलको संभावना पनि उत्तिक्कै बढ्दै गएको छ ।
बजार हल्ला जे जस्तो भए पनि यथार्थ त्यस्तो सस्तो नहुन सक्छ । जीवनभर माओवादी आन्दोलनमा लागेर जनताको मनमनमा बस्न सफल मेयर तामाङ एक हक्की स्वभावका राजनितिक लडाकू मात्र हैन इमान र जमानको मसिहा पनि हुन् । त्यसमाथि जनजातिको रगत भएकै कारणले क्षणिक लोभ र लालचामा फसेर राजनीतिलाई शुभलाभको दोकान बनाउने छैन मेयर तामाङलाई लामो समयदेखि नजिकबाट चिन्ने एक व्यक्ति भन्छन् सोझाहरुसँग सोझा व्यवहार गर्नु पर्छ मेयर तामाङ पनि एक सोझा व्यक्ति हुन उनीसँग छलछामको व्यवहार गर्नु खोज्नु गम्भीर दुर्घटना निम्त्याउन खोज्नु हो उनले भने ।
त्यसो त संभावनाहरु धेरै छन् सापकोटाले यसपटक आफ्नो दावी छोड्दा पहाड खस्ने हैन । न त सापकोटाको राजनीतिक विरासत नै जमिनमा भास्ने हो उनले भने मिलाउनुको विकल्प छैन, चौतारा साँगाचोकगढीभित्र अन्तिमा माओवादीहरु मिल्ने छन् । पक्कै पनि मिल्नुको विकल्प छैन ।