बलेफी, बैशाख २३ ।
सिन्धुपाल्चोक बलेफी गाँउपालिका वडा नं. ६ मा नेकपा एमालेले बाड्न तयार गरेको प्लाष्टिकको कुर्सी नियन्त्रणमा लिइएको छ ।
नेकपा एमालेको तर्फबाट वडा सदस्यको उम्मेदवार लवाङ दोर्जे तामाङको नेतृत्वमा बदर्पामा बाडन तयार गरिएको १ सय ८९ थान प्लास्टिकको कुर्सी स्थानीयले नियन्त्रणमा लिइ प्रहरीलाई बुझाएका छन्।
आसन्न स्थानीय निर्वाचनलाई प्रभावित पार्नको लागि गरिएको हर्कतको बिरुद्धमा सोही गाँउका स्थानीयले सो सामाग्री नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका हुन् ।
गत स्थानीय तहको निर्वाचनमा पराजय भोगेका एमालेबाट वडाध्यक्षका उम्मेद्वार तेजबहादुर पराजुलीले यसपटकको चुनाव जित्नका लागि आचारसंहिता बिपरितका कार्यहरु गरीरहेको स्थानीय सुरेन्द्र गोलेले बताएका छन् ।
कुर्सीसँगै क्याटरिङका सामाग्री समेत बाडेर आफ्नो पक्षमा मत झार्न खोजेका पराजुली चुनाव जित्नका लागि जुनसुकै हर्कत गर्न पनि तयार रहेको स्रोतको दावि छ ।