शुनकोशी, जेष्ठ २९ ।
कृषकहरुलाइ आधुनिक कृषिप्रविधिसँग जोड्दै उत्पादनमा वृद्धिमा जोड दिने उदेश्यले पाखरदोभान कफि सहकारी संस्था लिमिटेडले आफ्ना सदस्यहरुलाइ कृषिसामग्री वितरण गरेको छ ।
कफि उत्पादनको पकेट क्षेत्र रुपमा परिचित रहेको उक्त सहकारीले आफ्ना सदस्यहरुलाई आइतबार विभिन्न किसिमका सामाग्री हस्तान्तरण गरेको हो ।
सहकारीले आफ्ना सदस्यहरु सहित आफ्नो जोन अन्र्तगत रहेका किसानहरुलाई ५० प्रतिशत अनुदानमा ३५ थान मिनिटिलर, सिंचाइका लागि ७ थान पानीट्याङ्की, ५० थान ब्याट्री स्पेयर तथा १ सय ८० थान कैँची तथा करौंती वितरण गरेको छ ।
सहकारीले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना , सिन्धुपाल्चोकको सहकार्यमा कृषि ज्ञान केन्द्र, काभ्रेको सहयोगमा उक्त सामाग्री हस्तान्तरण गरिएको सहकारीका अध्यक्ष भुपेन्द्र भण्डारीले जानकारी दिए ।
उक्त कृषि सामाग्री हस्तान्तरण गर्न पुगेका सुनकोशी गाँउपालिकाका अध्यक्ष टपेन्द्र तिमल्सिनाले पालिकाले अबको बजेटमा कृषिलाई पहिलो प्राथामिकतामा राख्ने बताएका छन् । उनले पालिकाले भुगोल अनुसार कतैपनि जमिन बाँझो नराख्ने गरि निति बनाउन लागेको समेत बताए ।
गाँउपालिकाको भुभागमा कफिको लागि निकै नै उत्कृष्ठ हावापानी रहेको बताउदै उनले कफिको उत्पादन बढाउने आफुहरुको योजना रहने समेत प्रतिवद्धता जनाएका छन् ।
सिन्धुपाल्चोक जिल्लाको शुनकोशी गाँउपालिका कपि उत्पादनको हिसाबले अग्र स्थानमा रहेको स्थानीय तह हो । यस पालिकाको कफि प्रशोधन र ब्राण्डिङ गरेर सिन्धु अर्गानिक कफीको रुपमा जापान, दक्षिण कोरिया , अमेरीका तथा अस्ट्रेलिया निर्यात हुनेगरेको छ ।
सुनकोसी गाउँपालिकामा मात्रै ३ सय रोपनी जग्गामा कफि खेति गरेर ४ सय ५० परिवार यसमै आश्रीत भइ आम्दानी गरिरहेका छन् ।