बराम्ची ।
सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं ७ ले आफ्नो वडामा बाल विवाह न्यूनीकरणको लागि नयाँ अभियान अगाडी सारेको छ ।
वडाले २० वर्ष पुगि कक्षा १२ सम्मको पढाइ सकाएर विवाह गर्ने महिलाहरुलाई २० हजार रुपैंया दिने निर्णय गरेको छ ।
बालबालिकाहरूलाई २० वर्षपछि मात्रै विवाह गर्न प्रोत्साहन गर्ने उद्देश्यले यस्तो कार्यक्रम ल्याईएको वडा अध्यक्ष रवि लामाले बताए ।
‘बालविवाहसम्बन्धी अहिले भइरहेको परम्परागत सोचाइमा परिवर्तन ल्याउने प्रयास गरिएको हो’, लामाले भने– ‘यसै अनुरुप कक्षा १२ पढेर विवाह गर्ने महिलाहरुलाई २० हजार रुपैंया दिने छौं ।’
आफ्नो वडामा बालविवाहका कारण शारीरिक, मानसिक, आर्थिक, सामाजिकलगायतका क्षेत्रमा असर परिरहेको बताउँदै अध्यक्ष लामाले बालबालिका र अभिभावकहरूलाई बालविवाहले पार्ने नकारात्मक असर र कानुनी कारबाही बारे सचेत बनाउनु पर्ने बताए ।