चौतारा, ५ साउन ।
नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य माधब सापकोटा सुबोध अनाथ बालबालिकाको साहारा बन्नुभएको छ ।
उहाँको सहयोगमा भूकम्प र लिदी पहिरो पीडित तीन बालबालिकाको शिक्षा र आवसीय संरक्षणको व्यवस्थापन भएको छ ।
उहाँको समन्वय र सहयोगमा लिदीका अञ्जली दोङ, अरुण दोङ र रमेश दोङको शिक्षा र अन्य व्यवस्थापन भएको हो । तीनै जना बालबालिकाको गण्डकी प्रदेशको पोखरास्थित बालकल्याण संस्था सेति बगरले शिक्षा एवं आवासीय संरक्षणको व्यवस्थापन गरेको हो । बिहीबार तीन जना बालबालिकालाई नेता सुबोध आफैंले बालकल्याण संस्था सेति बगरमा पुर्याउनु भएको हो ।
अञ्जली र अरुणका बाबु सिताराम दोङको सवारी दुर्घटनामा परि निधन भएपछि उनीहरुकी आमा पूजा स्याङ्वो माइतमै बसेकी छन् । यस्तै रमेशका बाबु राम कुमार दोङको समेत हाइड्रो पावरको इन्टेकमा डुबेर मृत्यु भएपछि बालबालिकाको विचल्ली भएको थियो । खबर पाए लगत्तै नेता सुबोध उनीहरुको शिक्षा र संरक्षणका लागि जुट्नु भएको थियो ।
उहाँकै सहयोग र समन्वयमा अघिल्लो साता लिदीकी एक बालिका असमाई दोङको शिक्षा र संरक्षण भएको छ । असमाई हाल असहाय तथा अनाथ बालबालिका संरक्षण फाउण्डेसन नेपाल, ललितपुरको संरक्षणमा रहेकी छन् ।
नेता सुबोधसँगै १२ बर्षकी भतिजी अञ्जली र ५/५ बर्षका भतिजहरु अरुण र रमेशलाई लिएर पोखरा पुग्नु भएका उनीहरुका ठूलो बुबा कर्साङ् दोङले संस्थाका अधिकारीहरुले १२ कक्षा सम्म निःशुल्क पढाइदिने र संरक्षण गर्ने प्रतिवद्धता जनाएको बताउनुभयो।
लिदी पहिरो लगत्तै सेलाङको बाँकखर्कमा बसाइ सरेका लिदीका अभिभावक गुमाएका सात जना बालबालिकाको सभामुख अग्निप्रसाद सापकोटाको पहलमा संरक्षण शिक्षा र बसोबासको व्यवस्थापन गरिएको छ । उनीहरु हाल एस ओ एस बालग्राम पनौतिमा छन् ।
२०७२ साल बैशाख १२ र २९ गतेको महाभूकम्पबाट पीडित जुगलको विकट लिदीबासीले २०७७ साल साउन ३१ गतेको पहिरोबाट ठूलो जनधनको क्षती बेहोर्नु परेको थियो ।