चौतारा ।
विजया दशमी २०७९ को उपलक्ष्यमा कर्मचारी मिलन केन्द्रले आयोजना गरेको मैत्रीपुर्ण फुटबलको उपाधि बैंकर्सले हात पारेको छ ।
शुक्रबार बिहान सम्पन्न भएको उक्त मैत्रीपुर्ण फुटबलमा बैंक इन्स्योरेन्स माइक्रोफाइनान्स क्लबले कर्मचारी मिलन केन्द्र टिम बि सँग ट्राइब्रेकरमा पुगेर ३‐१ को अन्तरले जित निकालेको हो । निर्धारित ३० मिनेटमा भएको उक्त खेलमा कुनैपनि टिमले गोल गर्न नसकेपछि खेल ट्राइब्रेकरमा गएको थियो ।
उक्त फाइनल खेलमा बैंक इन्स्योरेन्स माइक्रोफाइनान्स क्लबले नेपाल पत्रकार माहासंघलाई २‐१ ले हराउदै फाइनल प्रवेश गरेको थियो भने कर्मचारी मिलन केन्द्र बि ले कर्मचारी मिलन केन्द्र ए लाई २‐० ले हराउदै फाइनलको यात्रा तय गरेको थियो ।
विहान ७ बजे देखि चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ७, मेल्चौरस्थित दरबार डाँडामा शुरु भएको सो प्रतियोगितामा कर्मचारी मिलन केन्द्रको ए र बि, बैंकर्स र नेपाल पत्रकार महासंघ गरी ४ टिमको सहभागिता रहेको कर्मचारी मिलन केन्द्रका कोषाध्यक्ष तथा लक्ष्मी बैंकका शाखा प्रवन्धक पवन सापकोटाले बताए।
प्रतियोगितामा विजेता बनेको बैंकर्स र उपविजेता बनेको कर्मचारी मिलन केन्द्र बि लाई प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले ट्रफी , मेडल र प्रमाणपत्र हस्तान्तरण गरेका छन् ।
प्रतियोगिताका लागि जिल्ला फूटबल संघ र जिल्ला खेलकूद विकास समितिले प्राविधिक सहयोग उपलव्ध गराएको थियो ।