चौतारा, असोज २४ ।
सिन्धुपाल्चोकको राजनीतिमा आजभोलि सबैभन्दा बढी चर्चा हुने नाम हो सुवोध । सिन्धु राजनीतिको उज्यालो तारा सुवोधको खास नाम माधव सापकोटा हो ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का पोलिटव्युरो सदस्य, लोकप्रिय युवा नेता माधव सापकोटा सुबोधको जन्म नेपाली राजनीतिमा उथलपुथलकारी जनयुद्धको एक उद्गमस्थल सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी वडा नं ४ कुविन्डेमा २०३७ साल चैत २० गते पिता हरिप्रसाद सापकोटा र माता खिलमायाँ सापकोटाको माइलो सन्तानका रुपमा भएको हो ।सापकोटाको हाल अस्थायी बसोबास भने बलेफी गाउँपालिका वडा नं २ मा रहेको छ ।
बाल्यकालदेखि नै तीक्ष्ण बुद्धिका सापकोटाले सेती देवि पञ्चकन्या माध्यमिक विद्यालय कुविण्डे र जुगल बोर्डिङ चौताराबाट विद्यालय शिक्षा प्राप्त गरेका हुन् । उनले सदरमुकाम चौतारास्थित जुगल बोर्डिङमा र त्यसपछि सेती देवि पञ्चकन्या मावि कुविन्डेमा विद्यालय शिक्षा पार गर्दै गर्दा कुविन्डे, सिन्धुपाल्चोक मात्रै नभएर देशभर जनयुद्धको राप र तापले छपक्कै छोपिसकेको थियो ।
२०५२ साल माघ २० गते अर्धभूमिगत माओवादी नेताहरुलाई पक्राउ गर्न गाउँमा आएका प्रहरीलाई कुविन्डेका स्थानीयले लखेटेपछि भाग्ने क्रममा एक प्रहरीको मृत्यु भयो । सो घटनापछि सिन्धुपाल्चोकको खासगरी कुविन्डेका हरेक घरमा प्रहरीले खानतलासी लिने, धरपकड गर्ने र घरै खाली गरेर सबैलाई लाइन लगाएर चौतारास्थित प्रहरी कार्यालयमा लगेर चरम यातना दिने, मुद्धा लगाउने काम भयो । सिंगो कुविण्डे गाउँ आतंकित भयो ।
वर परका गाविसहरुमा समेत राज्य आतंकको प्रत्यक्ष असर परेको थियो । नेपाल कम्युनिष्ट पार्टी माओवादीका केन्द्रीय नेता अग्निप्रसाद सापकोटाको परिवारभित्र राज्यको निगरानी र यातना अझ ज्यादा थियो । स्थानीयका अनुसार कुविण्डे र नौविसे वरपर त्यसबेलाको राज्यले चलाएको आतंक अवर्णनिय थियो । त्यसको प्रत्यक्ष असर माधव सापकोटा सुवोधलगायतलाई परेको थियो ।
कुविण्डेमा माध्यमिक शिक्षाका लागि अध्ययन जारी राखेका माधव सापकोटालगायतका विद्यार्थीहरुका लागि विद्यालय जानु र कक्षामा बस्नु निकै कठिन समय थियो । २०५२ साल फागुनमा महान् जनयुद्ध सुरु भयो । नेता अग्निप्रसाद सापकोटालगायत कुविण्डे र वरपरका सयौं नेता कार्यकर्ता पूर्ण रुपमा भूमिगत भए । त्यसपछि कुविण्डे र त्यो बाटो भएर चौतारा जाने हरेक नागरिक राज्यको निगरानीमा थिए ।
खानतलासी र धरपकड यति धेरै थियो कि जो कोहिलाई जुनसुकै बेला पक्राउ गरेर थुन्ने वा बेपत्ता बनाउने कार्य भइरहेको थियो । विद्यालय गइरहेका माधव सापकोटा जस्ता युवाहरुलाई हरेक दिन विद्यालय जान सहज थिएन । कुविण्डे र सेती देवि पञ्चकन्या माविमा राज्यको सोझो निगरानी थियो । जहाँ दमन त्यहाँ प्रतिरोध भने जस्तै कुविण्डे र सिंगो जिल्लामा माओवादीका गतिविधि बाक्लिएका थिए । त्यहि बेला विद्यालयहरुमा संगठन विस्तारका काम भए ।
बाल्यकालदेखि नै राजनीतिक वातावरणमा हुर्केका सापकोटा १३ बर्षकै उमेरमा २०५१ सालमा अखिल ९क्रान्तिकारी० बाल इकाई समितिमा संगठित भएका थिए । २०५२ साल भदौमा संगठनको सेतिदेवी पञ्चकन्या मावि इकाई समितिमा आबद्ध उनी राज्य दमनकै बिचमा २०५३ सालमा बिद्यालय इकाई समिति अध्यक्ष भए । २०५४ सालमा क्षेत्रीय समिति सदस्य हुँदै २०५५ सालमा जिल्ला समिति सदस्य, २०५६ साल साउनदेखी जिल्ला उपाध्यक्ष भए । २०५६ साल पुसदेखी २०५८ सम्म अखिल ९क्रान्तिकारी० सिन्धुपाल्चोक जिल्ला समिति अध्यक्षको भूमिकामा रहे । २०५७ साल तत्कालिन पुर्वी पहाड क्षेत्रीय समन्वय समिति संयोजक रहेका सापकोटा २०५८ असोजमा संगठनको केन्द्रीय समिति सदस्य बनेका थिए ।
विद्यार्थी राजनीतिकै क्रममा २०५४ असोजमा पार्टी सदस्यता प्राप्त गरेका सापकोटा सेल कमिटीमा संगठित भएका थिए । २०५५ सालमा सेल सेक्रेटरीरपूर्णकालिन कार्यकताको रुपमा सक्रिय उनी २०५६ साल माघदेखी पूर्णरुपमा भुमिगत भएर माओवादी आन्दोलनमा सक्रिय भूमिकामा रहे । २०५६ चैत्रदेखि सिन्धुपाल्चोक र दोलखा संयुक्त जिल्ला अन्तर्गत ५ नं. एरिया समिति सदस्य भएका सापकोटा २०५७ चैत्रदेखि सिन्धुपाल्चोक र दोलखा विशेष जिल्ला समिति सदस्य बने । २०५८ माघदेखि सिन्धुपाल्चोक र दोलखा जिल्ला सचिवालय समिति सदस्य भएका उनले २०६० जेठदेखि सिन्धुपाल्चोक जिल्ला सेक्रेटरीको भूमिका निर्वाह गरे । २०६० भदौदेखि उपक्षेत्रीय ब्यूरो सदस्य भएका उनले २०६१ देखि क्षेत्रीय ब्यूरो सदस्य हुँदै २०६३ साउनदेखि पुनःसिन्धुपाल्चोक जिल्ला सेक्रेटरीको भूमिकामा फर्किए ।
विद्यार्थी राजनीतिसँगै माधव सापकोटा सेनामा पनि विशिष्ट भूमिकामा रहे । २०५८ मा तत्कालीन जनमुक्ति सेनामा स्क्वार्ड कमाण्डरका रुपमा सहभागि भए । उनी २०५९ मा प्लाटुन कमाण्डर भए भने २०५९ मै कम्पनी सहकमिसारको जिम्मेवारी सम्हाल्न पुगे । २०६१ साल चैत्रमा कम्पनी कमिसार भएका उनले २०६२ असारमा ११ औं बटालियन सह कमिसार र २०६४ साल फागुनमा १४ औं बटालियन कमिसारको भूमिका निर्वाह गरे । जनयुद्धकामा कुशल कमाण्डरका रुपमा ठूला युद्ध मोर्चाहरुको नेतृत्व गरेका उनी २०६३ वैशाख १० गते राति सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा माओवादीले गरेको आक्रमणको कमाण्डर थिए ।
सो आक्रमणका क्रममा गोली लागेर गम्भीर घाइते भएका उनी अन्य दुई आक्रमणमा पनि घाइते भएका थिए ।
२०६३ माघदेखि सिन्धुपाल्चोक जिल्ला अन्तर्गत २ नं क्षेत्रीय समिति ईञ्चार्जको जिम्मेवारी सम्हालेका सापकोटा २०६५ देखि ताम्सालिङ राज्य समिति सचिवालय सदस्य एवं सिन्धुपाल्चोक जिल्ला सहसेक्रेटरीको भूमिकामा रहे । २०७१ साल असार ११ गते सिन्धुपाल्चोक जिल्ला पार्टी अध्यक्ष भएका सापकोटा २०७३ सालमा पार्टी केन्द्रीय समिति सदस्य भए ।
०७५ जेठ ३ गते पार्टी एकतापछि तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय समिति सदस्य तथा सिन्धुपाल्चोक जिल्ला सह ईञ्चार्ज रहेका उनले २०७८ देखि ने।क।पा ९माओवादी केन्द्र० केन्द्रीय समिति सदस्य तथा सिन्धुपाल्चोक जिल्ला सह ईञ्चार्जको भूमिका निर्वाह गरे । २०७९ बैशाखदेखि सिन्धुपाल्चोक जिल्ला पार्टी ईञ्चार्ज र २०७९ असारदेखि पार्टी पोलिटब्युरो सदस्य एवं सिन्धुपाल्चोक जिल्ला ईञ्चार्जको रुपमा कार्यरत छन् ।
उनले शान्ति प्रक्रिया सुरु भएपछि मात्रै थाँति रहेको अध्ययनलाई अघि बढाउन पाए । सेना समायोजन पछि चितवनस्थित क्यान्टोन्मेन्टमा बसेका उनले त्यहिँ रहेको विद्यालयबाट पढाई अघि बढाए । खुला राजनीतिमा आएपछि प्लसटु र राजनीतिशास्त्रमा स्नातकसम्मको अध्ययन पुरा गरे । हाल उनी राजनीतिशास्त्रमा स्नातकोत्तर तहमा अध्ययनरत छन् ।
जनयुद्धकै क्रममा सहयोद्धा देवकुरमारी नेपाल सन्ध्यासँग जनवादी विवाह गरेका उनीहरुका एक छोरा (सालीन सापकोटा) छन् । विद्यार्थी राजनीतिमा रहँदा खरो, स्पष्ट र चलाख युवा नेताको छवि बनाएका माधव सापकोटा सुबोध पार्टी केन्द्रको जिम्मेवारीमा रहेपछि बौद्धिक, तार्किक, मिलनसार एवं समन्वयकारी नेताका रुपमा परिचित छन् । न्यायसंगत अडानमा निर्भिक भएर उभिने उनी पार्टीभित्र, विपक्षी र स्वतन्त्र अस्तित्वमा रहेकाहरुबीच पनि उत्तिकै लोकप्रिय छन् ।
२०७१ सालको जुरे पहिरो, २०७२ को महाभूकम्प, लिदि पहिरो, नागपुजे, खागदल लगायतकाका जिल्लाका ठूला साना प्राकृतिक विपत्ति एवं अन्य अप्ठेरोमा सहजै जनतामाझ पुगेर राहत, उद्धार र उपचारमा सक्रिय बन्ने, जनताका दुःख पीडामा तत्काल घर दैलोमा पुग्ने, सहयोगकका लागि आवश्यक समन्वय कार्यमा निरन्तरत सक्रिय रहेका कारण उनी जिल्लामा सर्वस्वीकार्य छन् ।
सुबोध दुई दशक यता लगातार जिल्लाका जनताका सुख दुखमा सँगै छन् । सहजै उपलब्ध हुने, सबैको फोन उठाउने, घर आँगनमा पुग्ने, जनताका कुरा सुन्ने, जनताका कामका लागि पहल गर्ने उनको बानीले सुबोधलाई जिल्लाका नागरिकले बर्षौं अघिदेखि बैकल्पिक नेतृत्वका स्वीकार गरेको थिए । स्थानीय तह निर्वाचन २०७९ को जिल्लाको चुनावी कमाण्डर एवं केन्द्रिय नेतृत्वसँगको नजिकको सम्बन्ध राख्न सफल उनी सबैका नेताका रुपमा स्थापित छन् ।
युवा नेता माधव सापकोटा २०५२ देखि २०६२ सम्मको महान् जनयुद्धकालमा सुबोध नामले चर्चित थिए । शान्ति सम्झौता पछिको समयमा माधव सापकोटा सुबोधका रुपमा स्थापित उनी राजनीतिक परिवारमा जन्मे हुर्केका र जनयुद्धकालीन राजनीतिक भट्टिबाट खारिएका जोसिला एवं क्षमतावान नेता हुन् । उनलाई जिल्लामा माधव सापकोटा भन्दा सुबोध भनेर बोलाउनेको संख्या धेरै छ ।
जिल्लाका सर्वदलीय बैठक, विभिन्न समन्वय सबन्धि कार्यमा उदाहरणीय कार्य गर्न सफल सुबोधले बलेफी करिडोरको ऐतिहासिक बजार जलविरेमा रहेको जलविरे भ्याली क्याम्पस, सञ्चालक समितिको अध्यक्षका रुपमा २०७५ यता अनुकरणीय कार्य गरेका छन् । सुबोध जिल्लाको सबै भूगोलले नजिकबाट चिनेको र भूगोलका जनताका बीचमा चिनिएका नेतामा पर्छन् । सबै पालिका, वडा र बस्तीहरुमा पटक–पटक पुगेका नेता उनी सबै उमेर समुहका नागरिसंग प्रिय छन् ।
सभामुख अग्निप्रसाद सापकोटाको २०६३ साल, २०७० साल र २०७४ सालको तीनवटै चुनावमा कमाण्डर एवं आन्तरिक व्यवस्थापन सम्हालेका उनले २०७९ वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनको सिन्धुपाल्चोक क्षेत्र नं १ को कमाण्ड सम्हालेर सफलता हासिल गरे । चीन, भारत, दक्षिण कोरिया, जापान, थाइल्याण्डलगायतका देशहरुको भ्रमण गरेका उनी पार्टीको जलस्रोत तथा उर्जा विभाग सदस्य भएर काम गरेका छन् । सहिद स्मृति सहकारी लिमिटेडका अध्यक्ष छन् ।
विद्यार्थी जीवनदेखि नै कुशल संगठकका रुपमा चिनिएका सुबोध अहिले संगठन निर्माणमा अझ परिपक्व बनेको पार्टी, उनका समकक्षी र विपक्षीले समेत स्वीकार गरेका छन् । नयाँ प्रविधिसँग परिचित र बदलिंदो परिवेशबारे प्रशस्त जानकारी एवं विश्लेषण क्षमता राख्ने सुबोधलाई जिल्लामा मात्रै नभएर राष्ट्रिय सञ्चार माध्यमहरुले पनि उत्तिकै पछ्याउने गरेका छन् । उनी रेडियो, टेलिभिजन, अनलाइन पोर्टलहरुमा छाइरहन्छन । फेसबुक, टिकटक, युट्युब, ट्वीटरलगायतका सामाजिक सञ्जालमा ठूलो संख्याले फलो गरेका सुबोध युवाहरुबीचमा हिरोइक फिगर हुन् ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रीको सल्लाहकारका रुपमा डेढवर्ष बढी समय विशिष्ट श्रेणीको भूमिकामा रहेर कार्य गरेका उनले स्थानीय सरकारको पुनर्निर्माण एवं पुनर्स्थापनामा मन्त्रालयमा बसेर सहयोग गरेका थिए । २०७२ सालको भूकम्पबाट सबैभन्दा धेरै मानवीय र भौतिक क्षती बेहोरेको सिन्धुपाल्चोकको पुनर्निर्माणले गति लिने र समयमा सम्पन्न हुनका लागि सुबोधको भूमिकाको प्रशंसा हुने गरेको छ । संघीयता कार्यान्वयनका क्रममा नवगठित स्थानीय तहका कर्मचारी र निर्वाचितहरूका लागि क्षमता विकास तालिम प्रदान गर्न म्यानुअल, निर्देशिका निर्माणको काममा कुशलता हासिल गरेका सुबोधको सबै निकायसँग समन्वय, समझपूर्ण निर्णय क्षमता, विपक्षीप्रति राजनीतिक संस्कारयुक्त व्यवहारले सर्वत्र प्रिय बनाएको छ ।
सिन्धुपाल्चोकको जुगल हिमाल आरोहण खुलाउन एक प्रमुख पहलकर्ताकर्ताको भूमिका, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयकातर्फबाट ऐतिहासिक जुगल आरोहणको टोलीका सदस्यका रुपमा सहभागी सुबोध जिल्लाको पर्यटन विकासको नीतिगत निर्णयदेखि बजेट विनियोजनसम्मका कार्यक्रमा प्रत्यक्ष जोडिएका छन् । विकास निर्माण, शैक्षिक सुधार, सिप विकास, स्वरोजगार एवं रोजगारी, सामाजिक सुधारका पक्षमा स्पष्ट भिजनसहित अघि बढेका सुबोध लाभको पदमा नहुँदा समेत उनको योगदान प्रशंसनीय भएको जिल्लाबासी बताउँछन् ।
विविध सामाजिक कार्यमा सहयोग र समन्वयका लागि ठूलो संख्यामा सम्मान र प्रशंसापत्र प्रदान गरिएका सुबोध सिन्धुबासीका दुख र अप्ठेरोका साथीका रुपमा बढि चिनिएका छन् । उनी जिल्लाबाट काठमाडौमा रहेर विभिन्न पेशा एवं व्यवसायमा संलग्न सिन्धुबासीसँग धेरै संपर्क र समन्वयमा रहेका नेतामा पर्छन ।
नेपाली र अंग्रेजी भाषामा पोख्त उनले योजना निर्माणको कुशलता, व्यवस्थित तथा विस्तृत तयारीका साथ सफल कार्यान्वयनमा आफूलाई पटक पटक पुष्टि गरिसकेका छन् । स्पष्ट अडान र भिजन सहित निर्भिक भएर परिवर्तनकारी राजनीतिक आन्दोलनमा निरन्तर क्रियाशिल उनलाई असल, कुशल एवं विश्वसनीय प्रतिनिधिका नेता सुबोध जनमतबाट नजाँचिएका (अन्टेस्टेड) पात्र हुन् । यसपटक संघीय संसद, प्रतिनिधि सभाको निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नं १ बाट उम्मेदवारी दर्ता गराएका छन् ।
सिन्धुपाल्चोकको राजनीतिक क्षेत्रमा उदाएको चम्किलो तारा सुवोधलाई युवाहरु काठमाडौंको मेयर बालेनसँग पनि तुलना गर्छन् । सुबोधको राजनीति र समाजसेवा, जिल्लाबासी अझ निर्वाचन क्षेत्रका बासिन्दासँगको आत्मिय सम्बन्धको आडमा उनको लोकप्रियता पार्टीको सिमा भन्दा धेरै माथि छ । सिन्धुको विकासमा सुवोधको आगमनलाई चासोपूर्वक हेरिएको छ ।