चौतारा ।
चुनावको मिति नजिकिंदै जाँदा सिन्धुपाल्चोक क्षेत्र नं १ का लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारहरुले मतदाता भेटघाटलाई तिब्रता दिएका छन् ।
आफ्नो घर आँगनमा आएका प्रिय उम्मेदवारहरुलाई दल आवद्ध नेता कार्यकर्ता र आम सर्वसाधारणले भव्य स्वागत, सत्कार गर्दै जितका लागि शुभकामना दिएका छन् ।
क्षेत्र नं १ को प्रतिनिधि सभा तर्फका साझा उम्मेदवार माधव सापकोटा सुबोध र क्षेत्र नं १ को प्रदेश सभा १ तर्फका साझा उम्मेदवार मसिना खड्का भण्डारी बुधबार लिसंखु पाखर गाउँपालिका भित्रका मुडे, निगाले, सिलढुंगा, जेठल, बर्ना, बन्धन, पेड्कु पाखर लगायतका स्थानमा मतदाता भेटघाट र कोण सभामा सहभागि भए ।
मतदाताले आफूले खोजेका र रोजेका उम्मेदवाहरुलाई आफ्नै आँगनमा, बाटोमा रोकेर तथा कोण सभाहरुमा सयपत्री फुलको मालाले गला भरिदिंदा हर्षले उम्मेदवारहरुको गह भरिएका थिए ।
मतदाताले शुभकामनासँगै आफ्ना कुरा सुनाउँदा उम्मेदवारहरुले आफ्ना प्रतिवद्धता सुनाएका थिए । प्रतिनिधि सभाका साझा उम्मेदवार सुबोध मतदातालाई आफूले पाँच बर्ष साझा प्रतिनिधिका रुपमा सबैलाई समेटेर काम गर्ने बताइरहेका थिए । उनले सभामुख अग्नि सापकोटा र नेता मोहन बस्नेतले सुरु गरेका काम पूरा गर्नु आफ्नो पहिलो दायित्व हुने स्पष्ट पारे । गठबन्धनले आफूलाई गोलाकार भित्रको हँसिया हतौडा चिन्ह प्रदान गरेकोले मतदान गर्न उनको अपिल थियो ।
प्रदेश सभा १ का उम्मेदवार मसिना खड्काले आफूले महिला लगायत पछि पारिएको वर्गका लागि काम गर्ने स्पष्ट गरिन् । जिल्ला र पालिका तहका कांग्रेस, माओवादी, समाजवादीका नेता कार्यकर्ताको बाक्लो उपस्थितिमा भएका कार्यक्रममा कलाकारहरु चेतन सापकोटा र सुरविर पण्डितले आ आफ्नो प्रस्तुतीबाट गठबन्धनका उम्मेदवारलाई मत मागे ।
यता मतदाता भेटघाट र घरदैलो गरिरहेका क्षेत्र नं १ को प्रदेश सभा २ का उम्मेदवार सरल सहयात्री पौडेल र प्रदेश सभामा माओवादीका समानुपातिक उम्मेदवार अमृता नेपाल प्रभालाई बलेफी गाउँपालिकाको कोठे, पुरानो गाउँ, चिम्लिङ, पहरी गाउँ, टोप्का, लामोसाँघु लगायतका क्षेत्रमा मतदाताले भव्य स्वागत एवं सत्कार गरेका छन् । सहयात्री, प्रभासँगै मतदाता भेटघाट कार्यक्रममा कांग्रेस, माओवादी र समाजवादीका नेता कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो ।
कोण सभामा उम्मेदवार सहयात्रीले साझा प्रतिनिधि भएर जनतासँगै योजनावद्ध तरिकाले काम गर्ने प्रतिवद्धता व्यक्त गरे । कांग्रेस नेता केदार क्षेत्रीले बलेफी गाउँपालिकाबाट गठबन्धनका उम्मेदवारहरुलाई अधिक मत झार्ने गरि लाग्न नेता कार्यकातालाई अपिल गरे ।