चौतारा ।
जनयुद्धको उद्गम स्थल कुविण्डेका मतदाता भेटघाट तथा घरदैलो कार्यक्रममा आइपुगेका सिन्धुपाल्चोक जिल्ला प्रतिनिधि सभा क्षेत्र नं. १ प्रदेश सभा २ का लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार सरल सहयात्री पौडेल भावुक बनेका छन् ।
उम्मेदवार पौडेल आफ्नो गाउँमा आउने थाहा पाएपछि हातमा सयपत्री फुलका माला र खादा लिएर स्वागतका लागि निस्किएका मतदाताले गरेको सत्कार र मायाले नै उनलाई भावुक बनाएको थियो ।
‘तपाईहरुले गर्नुभएको यो माया र सम्मानले मलाई भावुक बनायो, तपाईहरु पनि उत्तिकै भावुक देखिनुभएको छ । तपाईहरुले हामी प्रति गर्नुभएको विश्वास र तपाईहरुले देख्नुभएको सपना साकार पारेर तपाईहरुको गर्भले छाति फुलाउने गरी हामीले काम गर्नेछौँ ढुक्क हुनुस् ।’ उनले भने ।
आइतबार सबेरैबाट घरदैलो सुरु गरेका उम्मेदवार पौडेलले कोणसभाको सम्बोधन गर्दै कुविण्डेले रचेको इतिहास प्रशंसा गर्दै यसको संरक्षण र कुविण्डेको भविष्यको मार्गदर्शन तयार गर्ने जिम्मा आफूहरूमा आएको बताए ।
‘गणतन्त्र ल्याउनको लागि कुविण्डेले खेलेको भूमिका कुनै पनि शब्दमा म बयान गर्न सक्दिन, त्यो इतिहासको संरक्षण र यहाँको भविष्यको मार्गदर्शन तयार गर्ने जिम्मा कमरेड सुबोध र मेरो काँधमा आएको छ ।’ उनले भने ।
‘हामीसँगै परिवर्तनको लागि होमिनुभएका यही गाउँका २६ जना साथीहरू हामीले गुमाएका छौँ ।, उहाँहरूले देख्नुभएको सपना साकार पार्ने जिम्मा हाम्रो काँधमा आएको छ, अग्रजहरूको सम्मान सहित उहाँहरूको सल्लाहमा हामीले हाम्रा साथीहरूले देख्नुभएको सपना अवश्य साकार पार्ने छौँ ।’ उनले भने, ‘सहिद र बेपत्ता परिवारको सम्मान हुने गरी हामीले नीति तथा कार्यक्रम तय गरेर तपाईँहरूको साथमा रहने छु ।’
उनले १० बर्से जनयुद्धको झल्को दिने गरी कुविण्डेमा ऐतिहासिक सहिद पार्कको स्थापना गर्ने योजना रहेको समेत प्रतिबद्धता जनाएका छन् ।
आइतबार बिहानैबाट सुरु भएको घरदैलो कार्यक्रम कुविण्डे हुँदै सिम्पानी, तालचौर, देउराली चाहुलेटोल, छाप हुँदै सकिएको थियो ।
लोकतान्त्रिक बाम गठबन्धनका अग्रज नेताहरू सहित मतदाताको घरदैलोमा पुगेका उम्मेदवार पौडेलको गाँउ बस्तिमा भव्य स्वागत सत्कार र सम्मान गरेका थिए ।