चौतारा ।
चौतारा साँगाचोकगढी नगरपालिकाले वडा नं. ४ कुविण्डेबाट सहिद परिवार भेटघाट तथा इण्डक्सन चुलो बितरण कार्यक्रम शुरु गरेको छ । नगरपालिका भित्रका सबै वडामा नेपाल सरकारले घोषणा गरेका सहिदहरुलार्इ राहत स्वरुप इण्डक्सन चुलो र त्यसमा प्रयोग हुने अन्य ६ थरी भाडाकुँडा, कुकर, कराई, पानी तताउने भाडो, चिया पकाउने भाडो, चपिङ बोर्ड, चक्कु लगायतको सामाग्री बितरण गरिएको हो ।
विहिबार वडा नं. ४ कुविण्डेका २६ सहिद परिवालाई सामाग्री हस्तान्तरण गर्दै नगरप्रमुख कृष्ण प्रसाद सापकोटाले आयोजनाको औपचारिक कार्यक्रम शुरु गर्नुभएको हो।
जस्ले यो ब्यबस्था परिवर्तनको आन्दोलनमा आफ्नो प्राण उत्सर्ग गर्नुभएको थियो, उहाँहरुको परिवारलाई सम्झना र भेटघाटको लागि यो कार्यक्रम शुरु गरिएको नगरप्रमुख सापकोटाले पष्ट्याउनु भयो ।
नगरभित्र सबैभन्दा बढी आन्दोलनमा ज्यान उत्सर्ग गर्ने वडा नं. ४ भएकोले शुरुवात ४ नं. बाट नै गरिएको स्मरण गराउदै नगरप्रमुख सापकोटाले सबै वडाबासिले यो आन्दोलनको महत्त्व बुझेको बताउनुभएको छ ।
उक्त कार्यक्रममा सहिदको बिषय संसदमा उठाउनु पर्ने, साथै बेपत्ताका परिवारलाई पनि सरकारले सहिदकै सुचिमा आउने गरि सरोकारवालालार्इ इंकित गर्दै सहिद परिवारको तर्फ बाट बिन्दा बजगाई कुरा राख्नुभएको थियो ।