चौतारा ।
चौतारा साँँगाचोकगढी नगरपालिका वडा नं. १ स्याउलेकी ३७ वर्षकी खिकाकुमारी थापाले यस वर्ष छोराको विद्यालयमा शुल्क तिर्नको लागी गाउँमा रहेका अरूबाट ऋण खोज्नु परेन ।
ऋण खोज्न नपर्दा उनले राहतको सास फेरिकी छन् । घरमा रहेका एक श्रीमान र २ छोराको लालन पोषणको जिम्मेवारी सम्हालिरहेकी थापालाई १२ कक्षमा अध्ययनरत छोराको लागि आवश्यक किताब, कापी र विद्यालयमा तिनुपर्ने शुल्कले सधैँ सताइरहन्थ्यो । तर यस वर्ष भने उनलाई त्यस कुराले पिरोलेको छैन ।
सबैजसो मदिरा सेवन गरेर शारीरिक मानसिक यातना समेत दिने गरेका उनको श्रीमानले घर व्यवहारमा ध्यान दिनेको कुरा त परको मदिरा सेवनको लागी पैसा खोजिदिनु समेत उनको जिम्मेवारी रहेको थियो ।
कुलतमा फसेका श्रीमान् र उज्ज्वल भविष्यको सपना देखिरहेका ती अबोध २ छोराहरूको लागी १ वर्षको लागी स्कुलमा तिर्नुपर्ने शुल्क, खाना र कपडाको जोहोका लागि पिर लिइरहने उनी यस वर्ष भने ढुक्क छिन् । यस वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी भए बापत पाउने पारिश्रमिकले आर्थिक अवस्थामा केही माथि उक्सने भएपछि उनको ओठमा मुस्कान छरिएको स्पष्ट देख्न सकिन्छ ।
हाल उनी प्रधानमन्त्री रोजगार कार्यक्रम अन्त्रगतको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १ मा भेडाबारी गुरुङडाँडा गोरेटोबाटो सिँढी निर्माणमा सहभागी भएकी हुन् । हाल यो योजना अन्तिम चरणमा पुगिसकेको छ । विगत ९३ दिन देखी निरन्तर रूपमा साथीहरूसँग काम गरिरहेकी उनमा थकान सँगै उमङ्ग समेत थपिएको देखिन्छ ।
उनले अब ७ दिन काम गरेर १०० दिन बापतको एकमुष्ट ६४ हजार ८ सय रुपैयाँ हात पार्ने छिन् । यो योजना सम्पन्न भएसँगै उनलाई आर्थिक रूपमा सहयोग मात्र पुगेको छैन उनी सँगै स्थानीयलाई पनि प्रत्यक्ष रूपले फाइदा पुगेको छ । दैनिक रूपमा घाँस दाउरा गरेर हिडने पक्की सिँढी निर्माण भए सँगै चिप्लो बाटो हिँड्नुपर्ने बाध्यता टरेको छ । जसका कारण बालबच्चा र वृद्धहरूलाई हिँडडुल गर्न समेत सहयोग पुगेको छ ।
यस्तै चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ४ सिम्पानीकी पवित्रा सुवेदीको परिवारलाई समेत प्रधानमन्त्री रोजगार कार्यक्रमले राहत पुगेको छ । विगत ५ वर्ष अघि उपचारको क्रममा श्रीमान् गुमाएकी सुवेदीले २ छोराहरूको पालनपोषण गरेर बसिरहेकी छिन् ।
खेतीपाती गरेर ३ महिना सम्म पुग्ने उनलाई यस वर्ष गाउँमा नै पुगेको रोजगार कार्यक्रमले उनको परिवारलाई १ वर्षको खानाको जोहो भएको छ । सिम्पानी शिव मन्दिर देखी माथि मेलसम्म सिँढी निर्माण काममा ढुङ्गा, गिट्टी, बालुवाको थुन्से बोकिरहेकी उनले १०० दिन मात्र हैन वर्ष भरि नै काम पाउन पाए हुने गुनासो सुनाईन ।
यी त प्रतिनिधि पात्र मात्रै हुन् चौतारा साँगाचोकगढी नगरपालिकाका यस वर्ष मात्र १२३ जना विपन्न मानिसहरूले प्रधानमन्त्री रोजगार कार्यक्रमबाट लाभान्वित भएका छन् ।
सहकार्यले थप प्रभावकारी
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत चौतारा साँगाचोकगढी नगरपालिमा गोरेटो बाटोको निर्माण, सिंचाई पोखरी निर्माण, रिचार्ज पोखरी निर्माण, कच्ची नाला निर्माण, कुलो तथा बाँध मर्मत, सडक मर्मत लगायतका कामहरू सञ्चालन भइरहेका छन् ।
प्रधानमन्त्री रोजगार कार्यक्रमको सशर्त अनुदान र स्थानीय तहबिच सहकार्य गरेर सञ्चालन भई रहेका योजनाहरू प्रभावकारी र गुणस्तरीय बनेका छन् । जिल्लाका अन्य स्थानीय तहहरूले भन्दा फरक ढङ्गले सहकार्य गरेर कार्यक्रम सञ्चालन गरिरहेको यस नगरपालिकाका योजनाहरू जिल्लाका स्थानीय तहहरूको भन्दा उत्कृष्ट रहेको रोजगार शाखाका प्रमुख चिरञ्जिवि कट्टेल बताउछन् ।
योजना सम्पन्न गर्नको लागी सशर्त अनुदान बापत कामदारको ज्याला मात्रै आउने गरेकोमा नगरपालिकाको तर्फबाट योजना सम्पन्न गर्नको लागी आवश्यक सामाग्री खरिदको लागी बजेटको व्यवस्था गरेको समेत उनले जानकारी दिए । योजनाहरू सम्पन्न गर्नको लागी प्रति वडामा ४ लाखको दरले बजेट व्यवस्थापन गरेको छौँ जसले गर्दा योजना उत्कृष्ट र दिगो रहेको उनको भनाई रहेको छ ।
आगामी आर्थिक वर्षमा गाउँपालिकाको योजना र प्रधानमन्त्री रोजगारबाट पारिश्रमिक प्रदान गर्ने गरी सहकार्यको योजना बनाएर कार्य गर्ने तयारी रहेको प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले बताए । ‘नगर सभाबाट पारित भएका योजनामा जनश्रमदान बाहिरबाट नलिएर प्रधानमन्त्री रोजगारबाट लिने गरी योजना बनाउँछौँ जसले गर्दा नगरपालिकाको बजेट पनि बच्ने र रोजगार पनि सिर्जना हुने गर्छ ।’ उनले भने, ‘यसका लागि सहकार्य गरेर अघि बढ्ने योजना छ ।’
हातैमा पैसा पाउँदा दङ्ग
ठुलोसिरुवारीकी हरिमाया तामाङले हालसम्म १ हजार समेत गोजीमा राख्न पाएकी थिइनन् । आर्थिक अवस्था कमजोरसँगै सबै व्यवहार श्रीमानले नै हेर्ने गरेका कारण उनले १ हजार देख्न नपाएको सुनाउ छिन् । तर यस वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रमको योजनामा काम गरे बापतको पारिश्रमीक बापत एकमुष्ट रूपमा ६४ हजार ८ सय हातमा पर्दा उनी दङ्ग परेकी छिन् ।
यस्तै आफूले पैसा कमाउन थालेपछि श्रीमानले गर्ने व्यवहारमा नै परिवर्तन आएको कमदबासकी बुद्वि मायाँ सुनार सुनाउछिन् । । ‛खर्चको लागी श्रीमानसँग पैसा माग गर्दा सधैँ झर्कने श्रीमान् आफैले पैसा कमाउन थालेपछि छुट्टै व्यवहार गर्न थाल्नुभएको छ,’ उनले सुनाइन् ।
सूचीकृत बेरोजगार धेरै तर अवसर न्यून
चौतारा साँगाचोकगढी नगरपालिकामा यस आर्थिक वर्षमा प्रधानमन्त्री रोजगारका लागि बेरोजगारको सूचिमा १ हजार ४ सय ८१ जना सूचिकृत भएका छन् । तर यस आर्थिक वर्षमा जम्मा १ सय २३ जनाले मात्रै काम पाएको रोजगार शाखाका प्रमुख चिरञ्जिवि कट्टेलले जानकारी दिए ।
यो सङ्ख्या सूचीकृत बेरोजगार सङ्ख्याको अति नै ज्यून हो । गत आर्थिक वर्षमा हाम्रो नगरपालिकामा ४ सय ६ जनालाई १ सय दिन बराबरको काम दिएका थियौँ तर यस वर्ष संघबाट आउने सशर्त अनुदान नै कम आएको कारणले १ सय २३ जनालाई मात्रै अवस।र दिन सकेको उने बताए ।
‛आगामी आर्थिक वर्षको लागी समेत ७ सय ८६ जनाले रोजगारको पाउनको लागी निवेदन पेस गर्नुभएको छ । तर यस वर्षको बजेटको आकार हेर्दा अर्को आर्थिक वर्षमा १ सयले पनि रोजगार अवसर नपाउने जस्तो देखिन्छ ’कट्टेलले भने ।
एकातर्फ सूचिकृत सबैले रोजगारीको अपेक्षा गर्ने गरेका छन् भने अर्कोतर्फ रोजगारी पाएकाले निरन्तरताको आशा राख्ने गरेको समेत उनले सुनाए ।
कम्तीमा ६ महिनाको रोजगार
रोजगार पाउनेको सङ्ख्या प्रत्येक वर्ष घटिरहेको भएतापनी रोजगार पाउने बेरोजगारले भने कम्तीमा ६ महिनासम्म रोजगारीको अपेक्षा गरेका छन् । वडा नं. १४ का नवराज तामाङले यस प्रकारको रोजगार ६ महिना सम्मको भए अझै सहज हुने बताए । उनी भन्छन्, ‘कार्यक्रम राम्रो छ । प्रत्येक वर्ष कम्तीमा छ महिना रोजगारी पाए राम्रो हुन्थ्यो ।’
कालिका मन्दिर सिँढी निर्माणमा काम गरिरहेकी सिता श्रेष्ठको गुनासो समेत उस्तै रहेको छ । ६ जनाको परिवार सम्हालिरहेकी श्रेष्ठले नगरपालिकाले सञ्चालन गर्ने अन्य योजनाहरूमा समेत काम गर्ने अवसर पाउन गुनासो गरिन् । यहाँका हाम्रा विकास निर्माणका योजनाहरूमा काम गर्न अन्य जिल्लाबाट आउँछन् तर हामीले यही भएर पनि अवसर पाई नरहेको छैनौँ । माथिल्लो निकायले गाउँको विकासमा गाउँकै बेरोजगारको परिचालन गर्नुपर्न बाध्यकारी व्यवस्था गर्नुपर्ने उनले सुनाइन् ।
अदक्ष कामदार हुँदा योजनाको गुणस्तर बढाउन कठिन
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्त्रगतका योजनाहरूमा अदक्ष कामदारहरू मात्रै काममा खटिने हुँदा अन्य योजनाहरूको तुलनामा योजनाको गुणस्तरमा केही कमी हुने गरेको रोजगार शाखाका प्राविधिक रूपक विश्वकर्मा बत्ताउँछन् ।
अन्य योजनाहरूमा दक्ष कामदार सहित पर्याप्त मात्रामा निर्माण सामाग्रीको प्रयोग हुने तर यस कार्यक्रम अन्त्रगतका योजनाहरूमा दक्ष कामदारहरू नहुँदा लागत अनुमान अनुसारको कार्य सम्पन्न गर्न नै समस्या रहेको समेत उनले गुनासो गरे ।
प्रधानमन्त्री रोजगार कार्यक्रमका योजनाहरू सम्पन्न गर्न आवश्यक निर्माण सामाग्री खरिदका लागी नगरपालिकाले प्रत्येक वडाको लागी ४ लाखका दरले बजेट विनियोजन भएता पनी उक्त रकम पर्याप्त नरहेको उनको भनाइ रहेको छ ।
स्थानीय तहको अदक्ष कामदारले पाउने ज्यालाको ८० प्रतिशत मात्रै ज्याला पाउने भएपछि दक्ष कामदारहरू यस प्रकारका योजनाहरूमा काम गर्न आउने कुरै भएन त्यसै कारणले पनि कतिपय समस्याहरू आउने गरेको उनले बताए ।
‛छनोट भएका कामदारहरूको लागी निश्चित समयको तालिमको व्यवस्था गरेर योजनाका काममा लगाउन सकेमा थप प्रभावकारी हुन्थ्यो तर त्यसको लागि कुनै पनि बजेटको श्रोत छैन,् हामीले चाहेर पनि गर्न सक्ने अवस्था छैन,’ प्राविधिक विश्वकर्माले भने ।
कार्यक्रमको ढाँचा परिवर्तन आवश्यक
प्रधानमन्त्री रोजगार कार्यक्रमले स्थानीय तहका सडकहरूको मर्मत सम्भार, सिँढी निर्माण, धार्मिक, सांस्कृतिक तथा पर्यटकीय स्थल जोड्ने सडक निर्माण तथा मर्मत सम्भार गर्न सकिने व्यवस्था गरेको छ । तर, यी काम गर्दा अवश्यका पर्ने निर्माण सामाग्री र औजारको व्यवस्था गरिएको छैन । जसका कारण काम गर्न केही असहज भएको पनि सुनिने गरेको छ ।
‘प्रधानमन्त्री रोजगार कार्यक्रमको अवधारणा ठिक छ । योजना तय गर्ने सन्दर्भमा र सञ्चालनको मोडालिटीको सन्दर्भमा केही मोडिफाई गर्नुपर्ने छ ।’ चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले भने, ‘जुन खालको कार्यक्रम तय गरिरहेका छौँ । त्यो कार्यक्रमले भौतिक पूर्वाधारमा जति योगदान दिनु पर्दथ्यो त्यो खालको उपलब्धि हुन नसको हो कि जस्तो देखिन्छ ।’
प्रधानमन्त्री रोजगार कार्यक्रममा अदक्ष बेरोजगार व्यक्ति आबद्ध छन् । त्यसमा पनि बेरोजगारको सूचिमा महिलाको सङ्ख्या बढी रहेको रोजगार शाखाका प्रमुख चिरञ्जीवि कट्टेलले जानकारी दिए । ‘महिलाहरू पूर्वाधार निर्माणमा कम सहभागी भएको पाइन्छ । हाम्रो सामाजिक अभ्यास पनि यस्तै देखिन्छ ।’ उनले भने, ‘कार्यक्रम तथा योजना तय गर्ने सन्दर्भमा उहाँहरू मैत्री योजना निर्माण गर्नु पर्ने आवश्यकता छ ।’
प्रधानमन्त्री रोजगार कार्यक्रमले दैनिक ज्यालादारीको व्यवस्थापन गर्दै न्यूनतम रोजगारीको अवस्था विकास गर्ने भन्ने छ । तर, संरचना निर्माण गर्दै गर्दा आवश्यक पर्ने निर्माण सामाग्री, औजारहरूको खरिदका लागि प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट प्रयोग गर्न पाइँदैन ।