चौतारा ।
अपाङ्गता भएका बालबालिकाहरूको लागि लायन्स क्लब अफ काठमाडौँ चाबहिलले न्यानो सहयोग गरेको छ ।
चौतारा ५ मा विगत ३ वर्ष देखी बौद्धिक अपाङ्गता अभिभावक सङ्घले सञ्चालन गरेको बाल आश्रममा रहेका बालबालिकाहरूको लागी सहयोग गरेको हो ।
आश्रमको लागि क्लबले ३ महिनाको लागि पुग्ने सम्पूर्ण खाद्यान्न सामाग्री सहित शैक्षिक सामाग्री, खेलकुदका सामाग्री लगायतको सामाग्रीहरू सहयोग गरेको क्लबका पूर्व अध्यक्ष राजेन्द्र दंगालले जानकारी दिए ।
चौतारा साँगाचोकगढी नगरपालिका वडा नं। ७ कल्लेरीमा जन्मिएर काठमाडौँ बसोबास गरी विभिन्न सामाजिक कार्य गरिरहेका दंगालले आफ्नै ठाउँमा सहयोग गर्न पाउँदा आनन्दित भएको बताए । ‛विभिन्न समयमा विभिन्न सामाजिक कार्यहरू गरियो तर आफ्नै ठाउँमा रहेको यस आश्रममा सहयोग गर्न पाउँदा छुट्टै आनन्द मिलेको छ ।’ उनले भने, ‛आगामी दिनहरूमा समेत कुनै समस्याहरू आएमा निर्धक्क भएर सुनाउनुस् म आफै र आफ्नो क्लबले सकेको सहयोग सधैँ तयार रहने छौ ।’
लायन्स क्लबले गरेको सहयोगप्रति धन्यवाद ज्ञापन गर्दै संघकी अध्यक्ष जानकी श्रेष्ठले अभिभावक विहीन बनेको यस बाल आश्रमले अब अभिभावक पाएको महसुस भएको बताइन् ।
‛आश्रम सञ्चालन गरे देखी हालसम्म विभिन्न सहयोगहरू भए तर यस प्रकारको प्रभावकारी र आवश्यकता बुझेर सहयोग गर्ने संस्थाहरूको पाएको थिएनौँ, यो सहयोग हामीले कहिल्यै बिर्सनेछैनौ र आगामी दिनमा समेत सहयोगको प्रतीक्षा गरिरहने छौँ ।’ अध्यक्ष श्रेष्ठले भनिन् ।
क्लबका संस्थापक अध्यक्ष तथा पूर्व गभर्नर शिवराम प्रधानको प्रमुख उपस्थितिमा सम्पन्न भएको उक्त सामाग्री सहयोग कार्यक्रममा क्लबका अध्यक्ष भरत अर्याल, चौतारा साँगाचोकगढी नगरपालिका वडा नं। ५ का पूर्व वडा अध्यक्ष नरमान श्रेष्ठ, लायन्स क्लब अफ काठमाडौँ चौतारा सिटीकी अध्यक्ष मिना थापा लगायतको उपस्थिति रहेको थियो ।
हाल उक्त सङ्घले सञ्चालन गरेको बाल आश्रममा जिल्लाभरका ११ जना बालबालिकाहरू आश्रित रहेका छन् । क्लबले आश्रम सहित सँगै रहेको श्री कृष्ण आधारभूत विद्यालयमा अध्ययनरत ५० जना विध्यार्थीहरुको लागि समेत विद्यालय झोला वितरण गरेको छ ।