३२ जेठ, जुगल ।
सिन्धुपाल्चोक जिल्लाको जुगल गाँउपालिकाले बुधबार महत्वपुर्ण उपलब्धिसहितको एक बर्षे प्रगति विवरण सार्वजनिक गरेको छ ।
वार्षिक समिक्षा सहितको सार्वजनिक सुनुवाई गरेको पालिकाले आफ्नो महत्वपुर्ण उपलब्धिको रुपमा पर्यपन क्षेत्रको उपलव्धि रहेको बताएको छ ।
सार्वजनिक सुनुवाईमा प्रस्तुत गरिएको प्रतिवेदनका अनुसार अन्य क्षेत्रमा खासै प्रगती गर्न नसकेको पालिकाले पर्यटनको क्षेत्रमा भने उल्लेख्य प्रगति गरेको देख्न सकिन्छ । पालिकाले यस आर्थिक वर्षमा मात्रै बर्ष पालिका भित्र पर्ने जुगल हिमश्रृंखला अन्तर्गतका बिभिन्न चुचुराहरु मध्ये पाँचवटा नयाँ हिमचुुुचुरहरुको आरोहण अनुमति प्राएको छ ।
काठमडौंबाट नजिकै रहेको जुगल हिमालको चुचुराको आरोहण खुला गर्न सक्नु नै पालिकाको मुख्य उपलब्धि रहेको पालिकाका अध्यक्ष रेशम स्याङ्बोले बताए । ‘गत वर्षसम्ममा जुगल हिमालको एउटा मात्रै चुचुरो खुल्ला गरिएकोमा हाम्रो अथक प्रयास र लगनशिलताले थप ५ चुचुराहरुको आरोहण खुलाउन सफल भएका छौँ यो नै हाम्रो पालिकाको समृद्धीको आधार हो’, उनले भने ।
क्षेत्र नं १ का सांसद माधव सापकोटा ‘सुबोध’को नेतृत्वमा पालिकाका अध्यक्ष रेशम स्याङ्बो सहितका अधिकारीहरुले पर्यटन मन्त्रालय र सम्बन्धीत पक्षसँग छलफल गरेपछि नयाँ पाँच चुचुराहरुको आरोहण अनुमति प्राप्त भएको थियो ।
पालिकाले पर्यटन पर्वद्धनमा टेवा पुग्ने हिसाबले यसै बर्ष राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकको आकर्षणका लागि ‘गन्तव्य जुगल’ सम्बन्धी वृत्तचित्र समेत सार्वजनिक गरेको छ ।
यस्तै गाउँपालिकाले पर्यटन पर्वद्धनका लागी यसै आर्थिक बर्षमा नेपेमाछल क्षेत्रमा बैशाख २ गते ऐतिहासिक नेपेमाछल प्रबद्र्धन कार्यक्रम समेत गरेको थियो । बौद्ध धर्मावलम्बीहरुको ग्रन्थमा संसारकै सुन्दर र सुरक्षीत भनेर उल्लेख गरिएको नेपेमाछल क्षेत्र जुगल हिमालको आधार शिविर नजिकै रहेको, हिमालले घेरिएको सुन्दर क्षेत्र हो ।
“सामाजिक न्यायसहितको समृद्ध जुगल” नारा दिएको पालिकाले सुशासन तथा सार्वजनिक सेवा प्रवाह, शिक्षा, युवा तथा खेलकूद, कृषि विकास, पशुसेवा, भौतिक पूर्वाधार, योजना तथा कार्यक्रम, पर्यटन, श्रम बैंक, अध्यक्ष शैक्षिक कोष संचालन, जीवन बिमा, संचार तथा सूचना प्रविधि, कानुन निर्माण, जलविद्युत, औधोगिक ग्राम, विपद् व्यवस्थापन, महिला, बालबालिका, जेष्ठ नागरिक तथा लक्षित वर्ग, न्यायिक स्वास्थ्य, श्रम तथा रोजगार, सामाजिक सुरक्षा तथा पञ्जिकरण, उद्यम विकास, राजश्व शाखाको र वित्तीय प्रगतिका क्षेत्रमा बर्ष भर गरेका कामको सूचि तयार गरी सार्वजनिक गरेको हो ।
जुगल गाउँपालिकाको २०७९ श्रावण देखि २०८० जेठ ३० गतेसम्मको प्रगति विवरण सार्वजनिक कार्यक्रममा जुगल गाउँपालकका अध्यक्ष रेशम स्याङ्बो, उपाध्यक्ष हिमाल कुमार श्रेष्ठ, कार्यपालिका सदस्यहरु, प्रमुख प्रशासकीय अधिकृत नर्बदा घिमिरे, कर्मचारीहरु, सञ्चारकर्मीहरु र स्थानीय राजनीतिक दलका प्रतिनिधिहरुको उपस्थिति थियो ।