नयाँ अभियान, चौतारा ।
चौतारा साँगाचोकगढी नगरपालिकाले जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पबाट प्रभावितहरुलाई १७ लाख आर्थिक सहयोग गरेको छ ।
गत बिहिबार बसेको कार्यपालिकाको बैठकले गरेको निर्णय अनुसार आज चौतारा साँगाचोकगढी नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद सापकोटाले उक्त रकम बराबरको चेक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हस्तान्तरण गर्नुभएको हो ।
केन्द्रीय राहतकोष मार्फत एकद्वार प्रणालीमा रकम जम्मा गर्नेगरी नगरपालिकाले १७ लाख रकम दिने कार्यपालिकाको निर्णय अनुसार नै उक्त रकम हस्तान्तरण गरिएको नगरप्रमुख सापकोटाले नयाँ अभियानलाई बताउनुभयो ।
नगरप्रमुख सापकोटा, उपप्रमुख सीता थापा र प्रमुख प्रशासकीय अधिकृत राम बहादुर केसि सहितको टोलिले प्रधानमन्त्री दाहालको निवास बालुवाटारमा पुगि १७ लाखको चेक हस्तान्तरण गर्नुभएको छ ।
शुक्रबार राती ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु बनाएर ६.४ म्याग्निच्युटको शक्तिशाली भूकम्प गएको थियो । भूकम्पमा परि हालसम्म १४८ जनाको मृत्यु भइसकेको छ भने १८० भन्दा बढी घाइते भएका छन् ।