नयाँ अभियान, चौतारा ।
जिल्लामा पहिलो पटक जिल्ला स्तरीय हिराहरि नगर कप क्योरुगी तथा पुम्से तेक्वान्दो प्रतियोगिता हुने भएको छ ।
चौतारा साँगाचोकगढी नगरपालिकाको आर्थिक सहयोगमा चौतारा साँगाचोक नगर खेलकुद विकास समितिको समन्वय तथा हिराहरी तेक्वान्दो डोजाङको आयोजनामा हुने प्रतियोगिता आगामी पुस ६ र ७ गते चौतारामा सम्पन्न हुने प्रतियोगिता संयोजक रमेश गुरुङले जानकारी दिए ।
क्योरोगि (फाइट) विधामा महिला तर्फ ७ र पुरूष तर्फ १० गरि १७ स्वर्णको लागि प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । त्यस्तै पुम्सेतर्फ महिला पुरूष गरि ८ स्वर्ण, जोडी पुम्से तर्फ २ स्वर्ण, समूह पुम्से तर्फ २ स्वर्ण गरी १२ स्वर्णको लागि प्रतिस्पर्धा हुने जनाईएको छ । ग्योरोगि तर्फ १७ र पुम्से तर्फ १२ गरि जम्मा २९ स्वर्णको लागि प्रतिस्पर्धा हुने संयोजक गुरुङले बताए ।
चौताराको श्रीकृष्ण रत्नगंगा माद्यमिक विद्यालयमा हुन लागेको प्रतियोगितामा जिल्ला भरबाट ८ टिमको २ सय ७० जना क्योरोगि तथा पुम्से विधाका महिला पुरूष खेलाडी सहभागि हुने आयोजकको भनाई छ ।
कोच, अफिसियल, पदाधिकारी र पर्यवेक्षक गरी ५० र विभिन्न खेल संघ संस्थाबाट ४० जना कार्यक्रममा सहभागिता रहने गरी तयारी थालिएको आयोजकले जनाएको छ ।