चौतारा ।
राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चले वैदेशिक रोजगारीबाट फर्किएका आदिवासी महिलाहरूको अनुभवका कथा समेटिएको किताब विमोचन गरेको छ ।
विगत १ वर्ष देखी चौतारा साँगाचोकगढी नगरपालिका भित्रका रोजगारीको सिलसिलामा वैदेशिक रोजगारीबाट फर्किएका आदिवासी महिलाहरूको बारेमा अध्ययन गरिरहेको संस्थाले उक्त किताब सार्वजनिक गरेको हो ।
उक्त संस्थाले प्रकाशन गरेको किताबमा वैदेशिक रोजगारीबाट फर्किएका १० आदिवासी महिलाहरूको अनुभवका कथाहरू समावेश रहेको छ ।
संस्थाले वैदेशिक रोजगारबाट फर्किएका आदिवासी महिलाहरूको आर्थिक अवसरको कमी सम्बन्धी सहभागितामूलक कार्य अनुसन्धानको निष्कर्ष र सुझाव समेत सार्वजनिक गरेको छ ।
बिहीबार चौतारामा एक कार्यक्रमका चौतारा साँगाचोकगढी नगरपालिकाका उपप्रमुख सिता थापाको प्रमुख आतिथ्ययतामा सम्पन्न भएको कार्यक्रममा उक्त किताबको विमोचन र अनुसन्धानको निष्कर्ष सार्वजनिक गरेको हो ।
उक्त कार्यक्रमको सम्बोधन गर्दै प्रमुख अतिथि सिता थापाले वैदेशिक रोजगारीमा गएर फर्किएका महिलाहरूको सिकेका सिप र ज्ञानको सही प्रयोग गरी आर्थिक अवस्था उकास्न नगरपालिका सधैँ तत्पर रहेको बताउनुभयो ।
चौतारा साँगाचोकगढी नगरपालिकाको वडा नं. १ र ५ मा गरिएको अनुसन्धानबाट कमजोर आर्थिक अवस्था नै वैदेशिक रोजगारीको प्रमुख कारण रहेको र अन्य देशको भाषा र सिपको अभावका कारण महिलाहरूले निकै दुख भोग्नुपरेको निष्कर्ष निस्काएको कार्य युवा अनुसन्धानकर्ता सबनम लामाले बताउनुभयो ।
विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको उक्त कार्यक्रमले आदिवासी महिलाहरूको जीवनस्तर उकास्नको लागि सबै एक भएर अगाडी बढ्नुपर्ने निष्कर्ष निकालेको छ ।
राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चका केन्द्रीय उपाध्यक्ष यशोकान्ति भट्टनको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा संस्थाको कोषाध्यक्ष सुशीला गोलेले स्वागत मन्तव्य राख्नुभएको थियो ।