चौतारा ।
संसदमा सशक्त रूपमा तल्लो तहका जनताको साना–साना समस्याका बारेमा आवाज उठाउने प्रतिनिधि सभा सदस्य माननीय माधव सापकोटा सुबोध सापकोटा जनताको गुनासो सुन्न गाँउगाँउमा पुग्न थाल्नुभएको छ ।
सिन्धुपाल्चोक जिल्ला क्षेत्र नं. १ बाट निर्वाचित सांसद सापकोटा तल्लो तहका जनताको समस्या सहितको गुनासो सुन्ने र उक्त समस्याका बारेमा संसदमा उठाउँदै आइरहनुभएको छ ।
सिन्धुपाल्चोक जिल्लामा मात्रै नभएर देशभर लोकप्रियता कमाउनुभएका सांसद सापकोटा बुधवार चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १ मा रहेको श्री सेतीदेवी माध्यमिक विद्यालयको वार्षिक उत्सव कार्यक्रमको सम्बोधन गर्न आइपुग्नुभएको थियो ।
हतार हतार कार्यक्रममा सम्बोधन सक्काएर जनताको समस्या र गुनासो सुन्न गाउँतिर हान्निनुभएका सांसद सापकोटाले आफ्नै पहलमा विनियोजन गरेर निर्माणाधीन रूपमा रहेको चौतारा–किटिनी सडक खण्डको कुविण्डे खोलामा निर्माणाधीन मोटरे बल पुलको अनुगमन समेत गर्न भ्याउनुभयो । पूर्वाधार विकास कार्यालयबाट ठेक्का सम्झौता भएर निर्माण कार्य अगाडी बढेको मोटरे बल पुलको ७० प्रतिशत कार्य सम्पन्न भैसकेको छ ।
मोटरे बल पुलसँगै निर्माणाधीन विभिन्न विकास निर्माणको समेत अनुगमन गर्नुभएका सांसद सापकोटाले भुवागाँउ, किटिनी, भलायो खर्क र ढुङ्गाना डाँडाका जनताको समस्या र गुनासो सुन्न भ्याउनुभयो ।
आफ्नै गाउँमा आइपुगेका सांसद सापकोटासँग आफ्ना समस्या राख्न पाउँदा जनता निकै उत्साहित र खुसी देखिन्थे ।
मोटरे बल पुल निर्माणको लागि बजेट उपलब्ध गराउनुभएकोमा सांसद सापकोटालाई धन्यवाद दिँदै स्थानीयले बर्खाको समयमा समेत सहज रूपमा यातायात सञ्चालन हुने गरी सडक स्तर उन्नति गर्न अनुरोध गरे । यस्तै गाउँमा सिँचाइको अभावले बाँझो रहेका जग्गाहरूमा सिँचाइको व्यवस्था गरिदिन समेत जनताले सांसद सापकोटालाई अनुरोध गरेका थिए ।
जनताको गुनासो मागको सम्बोधन गर्दै सांसद सापकोटाले आगामी फागुन मसान्तसम्म मोटरे बल पुलको उद्घाटन हुने र सडक स्तरउन्नतीको लागि आगामी बजेटको बहुवर्षिय योजनामा समावेश गर्ने प्रतिबद्धता जनाउनुभएको छ । यस्तै उहाँले सिँचाइको अभावले जमिन बाँझो रहने अवस्था नआउने भन्दै तत्काल नै सिँचाइ ट्याङ्की निर्माणको लागि बजेटको व्यवस्था हुने समेत बताउनुभयो ।
सांसद सापकोटाले बिहीबार बलेफि गाउँपालिकाका विभिन्न गाउँका स्थानीयहरूको समस्या र गुनासो सुन्ने कार्यक्रम तय भएको छ ।