सिन्धुपाल्चोक जिल्लाको बलेफि गाउँपालिका वडा नं. १, मा जन्मिएको हरि पौडेल १ दशकदेखि विद्यार्थी राजनीतिमा सक्रिय रहेको छन्। आनन्द माध्यामिक विद्यालयमा बनेको इकाई कमिटीमा आवद्ध भएदेखि विद्यार्थी राजनीति सुरुका पौडेल हाल जिल्ला सङ्गठनको उपाध्यक्ष रहेका छन् । सङ्गठनले दिइएको जिम्मेवारी कुशलतापूर्वक पूरा गर्ने र निरन्तर सङ्गठन निर्माणमा लागिरहने छविको रूपमा परिचित पौडेलसँग जिल्ला सम्मेलन नजिकिँदै गर्दा नयाँ अभियान डट कमले गरेको कुराकानीको संक्षिप्त अंशः
२० औँ जिल्ला सम्मेलनको तयारी कस्तो चलिरहेको छ ?
शिक्षा स्वास्थ्य रोजगारको लागी हाम्रो अभियान , सामाजिक न्याय सहित आर्थिक समृद्धिको पक्षमा २० औँ जिल्ला सम्मेलन भन्ने मूल नाराको साथमा जिल्ला सम्मेलन यहि माघ ६ गते गर्ने गरी निर्णय भएको छ । सम्मेलन तयारको लागि आयोजक समितिको बैठकबाट ६ वटा विभागीय उपसमिति निर्माण गरी कार्य विभाजन गरेका थियौ। सोहीअनुसार सबै उपसमितिहरूले आआफ्नो जिम्मेवारी पुरा गरी सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ। करिब ३ सय जना विद्यार्थी प्रतिनिधिको उपस्थितिमा उल्लासमय रुपमा जिल्ला सम्मेलन सम्पन्न गर्ने गरी तयारी अन्तिम चरणमा पुगेको छ।
विद्यार्थी सङ्गठनको औचित्य खतरामा परेको बेला सम्मेलन गर्न लाग्नु भएछ, यो सम्मेलनले के अर्थ राख्छ ?
विद्यार्थी सङ्गठनको भूमिका पार्टीभित्र होस या बाहिर होस सधैँ प्रतिपक्षको जस्तो हुनुपर्ने हो। तर आज विद्यार्थी सङ्गठनहरू सङ्गठन जस्तो नभएर पार्टीको र नेताहरूको प्रचारप्रसार गर्ने, विद्यार्थीको मुद्दा र समस्याहरूबाट टाढिँदै गएको आरोप हाम्रा विद्यार्थी सङ्गठनहरूलाई लाग्ने गरेको छ। यहीँ कुरालाई जोडेर औचित्य खतरामा परेको भन्न खोज्नुभएको होला यद्यपि विद्यार्थी सङ्गठनहरू पहिलेको तुलनामा केही रूपान्तरण भएको साँचो कुरा भए पनि विद्यार्थीको दैनिकीमा आइपर्ने समस्याबाट, समान, व्यवहारिक र गुणस्तरीय शिक्षाको मुद्दाहरूबाट चाहिँ निरन्तर विद्यार्थीकै पक्षमा विद्यार्थी सँगै रहेको छौँ। विद्यार्थी सङ्गठनहरूको सम्मेलन सम्मेलनले मूलतः २ वटा विषयलाई बढी जोड दिने गर्दछ। १. सङ्गठनको आगामी कार्यदिशा निर्माण गर्ने २. नेतृत्वको विकास र स्थापित गर्ने। हामीले यो सम्मेलनमार्फत विगतमा भएका गतिविधि समस्याहरूको समीक्षा गरी नयाँ नेतृत्वसहितको टिम निर्माण गरी आगामी दिनमा सङ्गठनको योजना र कार्यक्रम तय गरी विद्यार्थीमाझ जाने भन्ने नै हुन्छ।
पछिल्लो समय शिक्षाको गुणस्तर खस्केको छ, गुणस्तर सुधारमा तपाईँको सङ्गठन एजेन्डा के हो?
हाम्रो सङ्गठनको मुख्य लक्ष्य नै राज्यले प्रदान गर्ने शिक्षा निःशुल्क, समान, माटो सुहाउँदो र समाजवादी शिक्षा हुनु रहेको छ। हामीले यहीँ विषय विद्यालय तहमा पनि र विश्वविद्यालय तहमा पनि उठाउँदै आएको विषय हो। जबसम्म विभेदकारी शिक्षाबाट शिक्षालाई माटो सुहाउँदो र समान रूपमा विकास गर्न सकिँदैन तबसम्म हाम्रो शैक्षिक संस्थाहरूको अवस्था सुधार हुन सक्दैन त्यसैले हाम्रो सङ्गठनले शैक्षिक सुधारका निमित्त समय अनुकूलको माटो सुहाउँदो शिक्षाको लागि निरन्तर आवाज बुलन्द र खबरदारी गर्दै आइरहेको छ।
राजनीति लाई फोहोरी खेल भन्छन् यसमा तपाईँको धारणा के छ ?
राजनीतिलाई सबैले स्वार्थको रूपमा प्रयोग गरेर गलत भाष्य बन्न पुगेको हो। राजनीति फोहोरी खेल हो भने राजनीति सबै फोहोर सफा गर्न सक्ने सबैभन्दा ठुलो अवसर पनि हो। कसले कस्तो अवस्थामा ग्रहण गर्छ र कसरी प्रयोग गर्छ भन्ने कुराले यसलाई प्रभाव पार्छ भन्ने लाग्दछ। सबै कुराको बाहिरी आवरणले वास्तविकता बुझाउँदैन ।
नेपालको राजनैतिक दलभित्र आन्तरिक लोकतन्त्र कमजोर छ भन्छन् , यस सम्मेलन पनि कर्मकाण्ड मात्र हुने त होला नि होइन ?
आन्तरिक लोकतन्त्र भनेर के कुरालाई औल्याउन खोज्नुभएको थाहा भएन। यदि निर्वाचनलाई भन्न खोज्नुभएको हो भने निर्वाचन एउटा प्रक्रिया हो तर मूल्याङ्कनको महत्त्वपूर्ण साधन होइन। हाम्रो हरेक सम्मेलनहरूमा जनवादको प्रयोगबाट नेतृत्वहरू चयन गर्ने र छलफलमा विविधता र निर्णयमा एकरूपता हुने गरि कार्यक्रम र योजनाहरूको निर्माण हुने गरेका छन्।
जिल्ला नेतृत्वमा तपाईँको पनि चर्चा छ खास वास्तविक कुरा चाहिँ के हो ?
सङ्गठनको उपाध्यक्ष भएको नाताले नेतृत्वमा नाम आउनु स्वाभाविक हो भन्ने ठानेको छु। निरन्तर विद्यार्थी राजनीतिमा सक्रिय भएर लागिरहेकाले नेतृत्व तहमा पुग्ने इच्छा त भई नै हाल्छ। म बाहेक अन्य साथीहरूले पनि नेतृत्वमा इच्छा राख्नुभएको छ म मात्रको चर्चा भन्ने त होइन तापनि सम्मेलन आयोजक समिति र प्रतिनिधि साथीहरूले नेतृत्व गर्ने अवसर प्रदान गर्नुभयो भने म नेतृत्व लिनका लागि तयार छु।
तपाईँ अखिल क्रान्तिकारीलाई सिन्धुपाल्चोक जिल्लामा कस्तो सङ्गठन बनाउन चाहनुहुन्छ?
अखिल (क्रान्तिकारी) सिन्धुपाल्चोक जिल्लामा मात्र नभएर केन्द्रमा पनि उत्कृष्ट सङ्गठन हो। जिल्लामा अरू सङ्गठनको तुलनामा पनि पहिलो सङ्गठन हुनुको नाताले आगामी दिनमा विद्यार्थीमाझ हाम्रो जिम्मेवारी अझै धेरै रहेको छ। हाम्रो सङ्गठनको मुख्य लक्ष्य राज्यले प्रदान गर्ने शिक्षा निःशुल्क, समान, माटो सुहाउँदो र समाजवादी शिक्षा हुनु रहेकोले जिल्लामा पनि यी विषयमा आधारित रही साङ्गठनिक क्रियाकलाप सञ्चालन गर्ने र निरन्तर विद्यार्थीको हकहितका निमित्त निरन्तर स्थानीय तहको सरकारलाई गुणस्तरीय शिक्षाको लागि आवाज बुलन्द गर्ने नै आजको प्रमुख काम रहेको छ।
अन्त्यमा केही भन्न चाहनुहुन्छ?
सर्वप्रथम मलाई विचार व्यक्त गर्ने मौका दिनुभएकोमा हार्दिक धन्यवाद। अखिल (क्रान्तिकारी) सिन्धुपाल्चोकको २० औँ सम्मेलन मार्फत देशै भरी एउटा सन्देश प्रवाह गर्ने विश्वास लिएको छु। सङ्गठनको केन्द्रमा भएको विभिन्न आरोह अवरोहका बिच पनि सिन्धुपाल्चोक जिल्ला सङ्गठन आफ्नो कार्यमा निरन्तर लागि उत्कृष्ट हुन सफल भएको छ। आगामी दिनमा पनि सिन्धुपाल्चोक जिल्लालाई क्रान्तिकारी मय बनाउनका निमित्त सम्पूर्ण आयोजक र प्रतिनिधाहरूबाट कुशल र योग्य कमिटी निर्माण हुने अपेक्षा राख्दै सम्मेलनको भव्य सफलताको शुभकामना व्यक्त गर्दछु।