चौतारा, असोज १६ ।
रोजगारको सिलसिलामा कतारमा रहेका नेपालीहरुले जुगल गाउँपालिका– २ स्थित लिदीका पहिरो पीडितलाई सहयोग उपलब्ध गराएका छन् ।
चौतारा साँगाचोकगढी न.पा.१ १ का विशाल लामाको नेतृत्वमा सन्जय आङ्देम्बे,बिरु लामा, शेरबहादुर तामाङ, मीन गुरुङले कतारमा कार्यरत मजदुरहरुले संकलन गरि पठाएको एक लाख रुपैयाँ बराबरको रकमबाट पहिरो पीडितहरुको लागि तिस थान ब्ल्याङ्केट र तीस सेट हाइजेनिक कीट अस्थायी बस्ती बासखर्क पुगेर एक समारोहका बीच चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर अमानसिं तामाङले हस्तान्तरण गर्नुभएको हो ।
हस्तान्तरण कार्यक्रममा नेपाल तामाङ घेदुङ चौतारा साँगाचोकगढी नगरपालिका स्तरीय समितिका अध्यक्ष प्रबिण लामा, विशाल लामाका दाजु मानधोर्जे लामा, नामग्याल तामाङ लगाएतको सहभागिता रहेको थियो ।
सो वडाका वडा अध्यक्ष प्रताप लामाले प्रवासमा रहेर आफ्नो गाँस कटाएर पीडितहरुको लागि सहयोग गर्ने सबैमा धन्यवाद ज्ञापन गर्दै उपलब्ध सामाग्री पीडितहरुको लागि न्यानो राहत भएको बताउनुभयो ।
जुगलमा गत साउन ३० गते गएको पहिरोमा ३९ जना बेपत्ता भएकोमा अहिलेसम्म ३७ जनाको शव फेला परेको छ भने २ जना अझै बेपत्ता छन् । पहिरोले ३९ घरमा पुर्णरुपमा क्षति पु¥याउँदा १६७ भन्दा बढी मानीसहरु प्रभावीत भएका छन् ।