चौतारा, असोज ३० ।
वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले व्यावसायिकता, अनुशासन, इमान्दारिता तथा कर्तव्यपरायणता नै नेपाल प्रहरीको पहिचान भएको बताउनुभएको छ ।
६५ औं प्रहरी दिवसका अवसरमा शुक्रबार वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौंडाद्वारा आयोजित कार्यक्रममा उहाँले देशमा अस्थिरता निम्त्याउने तथा सामाजिक अमनचयनलाई खल्बल्याउन चाहने तत्वहरुको पहिचान गरी त्यसलाई निरुत्साहित गर्न सक्दा नागरिकमा विश्वासको वातावरण सिर्जना हुने बताउनुभयो ।
“लामो समयपश्चात देशमा राजनीतिक स्थिरता प्राप्त भएको छ । संविधान निर्माणसँंगै अधिकार प्राप्तिको आन्दोलन समापन भएपश्चात देश ‘समृद्ध नेपाल, सुखी नेपाली’ को सङ्कल्प पूरा गर्ने मार्गचित्रमा अघि बढेको छ । राजनीतिक स्थिरता र दिगो शान्ति नै समृद्धिको पहिलो सर्त हो”, मुख्यमन्त्री पौडेलले भन्नुभयो । पौडेलले प्रहरी दिवसको विशेष अवसरमा देश र जनताको सुरक्षा, शान्ति तथा अमनचयनका लागि क्रियाशिल प्रहरीका सम्पूर्ण अधिकृत तथा जवानमा सुख, शान्ति तथा समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभयो ।
पौडेलले कर्तव्य पूरा गर्ने सिलसिलामा अमर हुनुभएका सहीदप्रति श्रदाञ्जली व्यक्त गर्दै उहाँहरुको योगदानको स्मरण गर्नुभयो ।
शान्त एवम् निर्भिक वातावरणमा मात्र समृद्धिले गति लिन सक्ने उल्लेख गर्दै अपराध नियन्त्रण र अनुसन्धानबाट समाजमा शान्ति, अमनचयन र सुरक्षाको प्रत्याभुति दिलाउन नेपाल प्रहरीले निर्वाह गरेको भूमिका आँफैमा प्रशंसनीय उहाँले बताउनुभयो । मुख्यमन्त्री पौडेलले विषम् परिस्थितिमा समेत प्रहरी सङ्गठनले निर्वाह गरेको चुनौतीपूर्ण जिम्मेवारीले समाजमा नेपाल प्रहरीप्रति आशा र भरोसा बढेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा बागमती प्रदेश अन्तर्गत कार्यरत उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरीएको थियो ।
उत्कृष्ट प्रहरी कार्य तर्फको पुरस्कार ईलाका प्रहरी कार्यालय खुर्कोट सिन्धुलीमा कार्यालय प्रहरी निरीक्षक शान्ता वाईवालाई, उत्कृष्ट ट्राफिक व्यवस्थापन तर्फको पुरस्कार जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापमा कार्यरत प्रहरी सहायक निरीक्षक रामेश्वर पाण्डेलाई र विपद उद्दारकतर्फको पुरस्कार ईलाका प्रहरी कार्यालय मेलम्ची सिन्धुपाल्चोकमा कार्यरत प्रहरी जवान गंगा के.सी.लाई प्रदान गरीएको प्रहरी वरिष्ठ उपरीक्षक सुदिप गिरीले बताउनुभएको छ । कार्यक्रमका प्रमुख अतिथीज्युले पुरस्कृत हुने प्रहरी कर्मचारीहरुलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
सो कार्यक्रममा प्रमुख अतिथी माननीय मुख्यमन्त्री डोरमणी पौडेल, आन्तरीक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलज्यू लगाएतका व्यक्तित्वहरुले प्रहरी दिवसको अवसरमा शुभकामना मन्तव्य व्यक्त गर्नु भएको कार्यक्रममा प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्त कुमार लामाले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।